काठमाडौं-यातायात व्यवसायी तथा मजदूरहरुले असोज १ गतेदेखि सबै यात्रुबाहक बस चलाउन दिनुपर्ने माग सरकारसमक्ष गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा तीन वटा मजदूर संघको संयुक्त कार्यदलले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
११ लाख भन्दा बढी मजदूर, ३ लाख ६० हजार यातायात व्यवसायी र तिनका आश्रित परिवार गम्भीर संकटमा परेको भन्दै उनीहरुले असोज १ देखि लामो, मध्यम र छोटा दूरीका यात्रुबाहक बस सञ्चालन गर्न दिन माग गरेका हुन्।
लामो दूरीको बस नचलेको ६ महिना पुग्न लागेको समेत उनीहरूको भनाइ छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार (२५ गते) देखि २६ सिटभन्दा माथिका बस चलाउन दिने गरि गरेको निर्णय अव्यावहारिक भएको उनीहरूको जिकिर छ। त्यस्तै विदेशबाट आएर होल्डिङ सेन्टरमा राखिएकाहरूलाई उनीरुको गृहजिल्ला पुर्याउने क्रममा सीमित व्यवसायीले अनुचित भाडा लिएको विषयमा समेत छानबिन गर्न उनीहरूले माग गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।