तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्का
काठमाडौं–जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाइ सुरु भएको छ।
सरकारले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरेको थियो। उनीहरुविरुद्ध पाँच वटा उजुरी परेका हुन्।
समिति सचिवालयका अनुसार एउटा उजुरी बेल्जियमका लागि सिफारिस भएका राजभण्डारीवरुद्ध छ भने ४ वटा उजुरी किटानीविनाका छन्।
राजभण्डारीविरुद्ध परेको उजुरीमा उनी निजामती सेवामा रहँदा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेकाले राजदूतका लागि योग्य नभएको दाबी गरिएको छ ।
उनले सहसचिव हुँदा उपसचिवको दरबन्दी रहेको नेपाली राजदूतावास जापानमा उपनियोग प्रमुख पदमा काम गरी गैरकानुनी रुपमा तलव भत्ता लिएको दाबी उजुरीमा गरिएको छ । नेपाली दूतावास मस्को र जापानमै हुँदा निर्देशिकाविपरीत आफन्तलाई दूतावासकै रकमबाट उपचार गराएको आरोप राजभण्डारीमाथि उजुरीकर्ताले लगाएका छन्।
विभिन्न नियोगमा बस्दा राजभण्डारीका नाममा ४÷५ लाख बेरुजु रहेको दावी उजुरीमा रहेको छ। बेरुजु हालसम्म फस्र्योट नगरेकाले थप छानबिन गरी राजदूतका लागि अयोग्य घोषणा गर्न माग गरिएको छ।
अन्य उजुरीहरुमा सिफारिस समावेशी र समानुपातिक नभएको दाबी गरिएको छ। राजदूत सिफारिस गर्दा संविधानको भावना र मर्म अनुसार नभएको दाबी उजुरीमा गरिएको छ। महिला, दलित, आदिवासीलगायत अन्यको प्रतिनिधित्व नभएको दावी उजुरीमा गरिएको छ ।
सरकारले राजदूतका लागि सिफारिस गरेपछि सुनुवाइ समितिले भदौ १२ गते उजुरी आह्वान गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।