काठमाडौं–नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्रमाणपत्र पाएको छ। यो अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यताप्राप्त गुणस्तरको स्तर हो। यसले एक प्रभावकारी गुणस्तर प्रणालीमार्फत् उत्पादन र सेवाहरुबाट ग्राहकका आवश्यकता पूरा गर्न सुनिश्चित गर्ने गर्दछ।
आईएसओ ९००१–२०१५ अनुरुप बन्न एयरलाइन्सले व्यापक कम्पनी अडिटलाई अंगिकार गरिएको जनाएको छ। जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मूल्यांकन र नन्–कन्फर्मेन्सको निकासी समावेश थियो।
‘यसले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ। आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित छ जसमा ग्राहककेन्द्रित सेवा दिने, उच्चस्तरको संगठन व्यवस्थापन, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ। यसले एयरलाइन्समा धेरै व्यावसायिक लाभहरु ल्याउनेछ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने।
एयरलाइन्सले गत महिना मलेसियन एयरलाइन्स बरहाड (एमएच) सँग सम्झौता गरेको छ। मलेसियन एयरलाइन्स एयरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित छ ।
सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले हाल चारवटा जहाजबाट सातवटा गन्तव्यमा उडान गर्दै आएको छ। एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाका लागि भरेको थियो। त्यसपछि युएई, मलेसिया, साउदी अरब, बंगलादेश र चीनमा आफ्नो सञ्जाल विस्तार गरेको छ। अहिले यसले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिंगमा उडान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।