काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जहाज किनर हिमाली-पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन्। आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउँदै नागरिकलाई सेवा दिने कुरामा ढिलाई नगर्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएका हुन्।
बुधबार मन्त्रालयमा नेपाल निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग संयुक्त बैठकमा मन्त्री भट्टराईले यस्तो निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ। हाल आन्तरिकतर्फ दुईवटा ट्विनटर जहाज भएको र त्यसले माग धान्न नसेकेकोले तत्काल जहाज खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन्।
मन्त्री भट्टराईले निगमलाई पब्लिक मोडलमा लैजान उपयुक्त समयबारे पनि खाका तयार गर्न लगानी कोष, संचय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गर्न समेत निर्देशन दिए।

निगम ऐतिहासिक नेपाली ध्वजाबाहक भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिँदै उनले निगमलाई सबल बनाउन आआफनो विभागबाट तत्कालीन र दिर्घकालीन योजना बनाएर अघि बढन आग्रह गरे।
निगम ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पत्ति उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे।
मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारबाही गर्न अध्यक्ष सुशील घिमिरलेलाई निर्देशन समेत दिए।
खर्चकटौती तथा मितव्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्ने, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधाबापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरे। मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।