काठमाडौं- बालुवा तस्करीको आरोपमा पक्राउ परेका ६ वटा टिपरलाई जिल्ला समन्वयन समितिले प्रतिटिपर १० हजारका दरले जरिवाना तिराएर छोडेको छ। खोलाको बालुवा झिकेर क्रसरलाई बिक्री गरी क्रसरको बालुवा अनि नक्कली बिल बोकेर काठमाडौं हिँडेका यस्ता टिपरहरु सशस्त्र प्रहरीले साउन १४ गते नियनत्रणमा लिएको थियो।
सशस्त्रले ट्रकहरुले राजस्व तिरेको कागज बोकेको नदेखेपछि पक्राउ गरेको थियो। उनीहरुसँग फेला परेको भ्याट बिल पनि विभिन्न फरक फरक कलरको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाएको थियो। विकास सप्लायर्सको नाममा जारी भएका बिलहरू शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाएको थियो।
जिल्ला समन्वय समितिले उनीहरुलाई प्रतिटिपर १० हजार जरिवाना बुझाउन भनेको थियो। उक्त रकम तिरेर टिपरहरु यही हप्ता छुटेका हुन्। जिल्ला सम्वन्वयन समितिमा अझै २ वटा टिपर भने जरिवाना बुझाउन बाँकी रहेका छन्। सशस्त्रले २८ वटा टिपर नियन्त्रणमा लिएको थियो।
तीमध्ये २२ वटा टिपर यसअघि जिल्ला समन्वयन समितिको पत्रका आधारमा छुटेका थिए। उनीहरुले क्रसरमा मौज्दात रहेको बालुवा ल्याएको भन्दै उनीहरु छुटेका थिए। पक्राउ परेका टिपरहरु र राजस्व छलीको सम्बन्धमा समाचार प्रकाशन भएपछि जरिवाना गरेका टिपरहरु जिल्ला समन्वय समिति पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।