पोखरा-कोरोना संक्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ। प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ।
यसपटक गत भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका कारण नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भयो। रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ कास्कीले भदौ १७ गतेदेखि आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुगेको छ।
जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोेखरेलको २१औँ स्मृति दिवसको सन्दर्भ पारेर कोरोना कहरका बीच जिल्लामै पहिलोपटक भदौ २३ गतेसम्म एक साता आयोजना गरिएको कार्यक्रमबाट २१२ युनिट रगत संकलन भएपछि तत्कालका लागि अभाव हटेको हो ।
रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कोरोना त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक सातासम्म गरिएको कार्यक्रमबाट केन्द्रमा रगतको मौज्दात बढाउन सहयोग पुगेको र अभाव हटेको बताए। उनका अनुसार निषेधाज्ञा अलि खुकुलो भएपछि नियमित कार्यक्रमको तालिकासमेत बन्न सुरु भएकाले अब अभाव हुनेछैन।
हाल कोही पनि बिरामी रगत अभावमा फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उनले दैनिक गरिएको कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको उल्लेख गरे। ‘एक सातासम्म एउटा संस्थाले रक्तदान कार्यक्रम गरेको पोखरामा पहिलोपटक हो, उहाँहरुले थालनी गरेको कामबाट नयाँ अनुभव प्राप्त भएको छ’, ज्ञवालीले भने, ‘आगामी दिनमा अभावका बेला सहज रगत आपूर्तिका लागि व्यवस्थापन गर्न आँट मिलेको छ।’
राजनीतिसँगै युवालाई सामाजिक कार्यमा जोड्ने योजनाअनुसार राष्ट्रिय युवा संघले पोखरामा बर्सेनी नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ तर साताव्यापी कार्यक्रम भने पहिलोपटक गरेको हो। संघका जिल्ला संयोजक भोजराज पौडेलले निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रमसमेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताए।
पोखरामा दैनिक ७० युनिट हाराहारीमा रगतको माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ। निषेधाज्ञाका बेलामा रगत आपूर्तिका लागि अहिले रक्तसञ्चारको घुम्ती रक्त संकलन एम्बुलेन्स बसमार्फत् रक्तदान कार्यक्रम हुँदै आएको छ। केन्द्रले दुई वा सोभन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा सम्बन्धित व्यक्ति रहेकै स्थानमा एम्बुलेन्स बस पठाउने गरेको छ। केन्द्रले पूर्वनिर्धारित कार्यक्रम स्थगन नगर्न र नियमित रक्तदानका कार्यक्रम गर्नसमेत आग्रह गरेको छ ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।