काठमाडौं- सर्लाहीको हरिपूर र हरिपूर्वा नगरपालिकामा समुदायस्तरमा पुगिसकेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन सकिने अवस्थामा नै रहेको सम्बन्धित नगरका मेयरहरूले बताएका छन्। हरिपुर नगरका मेयर जमिरुद्दीन मन्सुरका अनुसार नगरमा ३१ जनामा कोरोना संक्रमण भएपनि हाल थप नयाँ संक्रमित भेटिने क्रम घटेको छ।
हालसम्म नगरले डेढ करोडसम्म कोरोना नियन्त्रणका लागि खर्च गरिसकेको तर संघीय र प्रादेशिक सरकारले भने अपेक्षाकृत रूपमा सहयोग नगरेको मेयर मन्सुरले जानकारी दिए। संघीय सरकारबाट भने केही सहयोग नै नआएको उनले बताए।
यस्तै सर्लाहीकै हरिपूर्वाका मेयर सियाराम राले भने नगरले हालसम्म कोरोना नियन्त्रणमा डेढ करोड रकम अर्च गरेको बताए। उनका अनुसार नगरमा कोरोना संक्रमणको अवस्था सुधारात्मक देखिए पनि स्थिर नै रहेको छ। जनचेतनामा पनि आफूहरूले ध्यान दिएको उनले बताए। मेयरहरूका बाँकी भनाइ उनीहरूकै शब्दमा:-
रकमान्तर गरेर भएपनि कोरोनामा खर्च गर्छाैं : जमिरुदिन मन्सुर
मेयर, हरिपुर
अहिले हाम्रो नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो दरमा छ। पहिले पहिले भारतबाट आउनेहरुमा धेरै कोरोना सङ्क्रमण देखिएकोमा समुदाय स्तरमा नै फैलिएको थियो।
हामीले २ सय ४६ जनलाई परीक्षण गराउँदा ३१ जना संक्रमण देखियो। हाम्रो नगरपालिकाको १५/१६ जना मात्र हुनुहुन्थ्यो। केही निको हुनुभयो। ८ जना सङ्क्रमित अझै पनि स्वास्थ्य चौकीको आइसोलेसनमा हुनुहुन्छ।
प्रदेश सरकारले सुरुमा रासन बाड्नमा सहयोग गरेको थियो। अहिले त्यो पनि छैन। संघीय सरकाले त कुनै सहयोग गरेको छैन। अहिलेसम्म खर्च भएको ६०/६५ लाख नगरपालिकाले आफैले खर्च गरेको हो।
संघीय सरकारले न त कोरोना नियन्त्रणको लागि छुट्टै बजेट दिएको छ, न त अन्य कुनै सहयोग नै। तर हामीलाई के विश्वास छ भने हामी कोरोना नियन्त्रण गर्न सफल हुन्छौं। अहिलेसम्म धेरै नियन्त्रणमा आइसकेको छ। लकडाउन पनि खुकुलो पारिएको छ।
पुन: कोरोना फैलन सक्ने संभावना उतिकै भएकाले सबै नागरिकलाई उतिकै सचेत रहन म आग्रह गर्छु। पुन फैलिका खण्डमा ३० बेड आइसोलेसन बढाउँछौँ। रकमान्तर गरेर भएपनि कोरोनामा खर्च गर्छाैं। सङ्क्रमण नियन्त्रणमा आएसँगै निषेधाज्ञा खुकुलो बनाएका छौं।
नगरले डेढ करोड खर्च गरेको छ : सियाराम राय
मेयर, हरिपूर्वा
अहिलेको अबस्था भनेको कोरोना नदेखिएको हैन तर केही स्थिर भने भएको छ। पहिलेजस्तो भयावह स्थिति छैन। धेरैलाई सचेत गराएका छौँ। मास्क लगाउने हात धुने कुरामा जोड गरेका छाैं। घुलमिल हुन दिएका छैनौँ। त्यसले गर्दा पनि होला पछिल्ला दिन सङ्क्रमितको संख्या कम हुँदै गएको छ।
अहिले सम्म हाम्रो नगरपालिकामा ३५ जनालाई कोरोना सङ्क्रमण देखियो। २० जना पहिले सञ्चो भइसके। केही दिन अघि १ सय ५० जनाको परीक्षण गर्दा ८ जनलाई सङ्क्रमण देखिएको थियो।
हिजो मात्रै ७४ जनालाई पिसिआर परिक्षण गरिएकोमा १३ जनालाई संक्रमण देखिएको छ। सङ्क्रमण पुरै रोकिएको त छैन तर बाहिर आउजाउ कम भएर सबैतिर फैलिएको छैन।
कोरोना नियन्त्रण रोकथाम तथा न्युनीकरणको लागि नगरपालिकाले १ करोड ५० लाख जति खर्च गरेको छ। प्रदेश सरकारले हामीलाई मेडिकल सामग्री पिपिई दिएको छ।
कोरोनाविरुद्ध लड्नका लागि संघीय सरकारले हालसम्म कुनै सहयोग गरेको छैन। आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण हुँदा हामीलाई आएको बजेटबाट विपद् जोखिम तथा न्यूनीकरण कोषको लागि छुट्टाएको रकम खर्च गरिरहेका छौं।
महामारीका बेला संघीय सरकार पनि फ्रन्टलाइनमा आउनुपर्ने त हो तर यो देखिएको छैन। हामीले लकडाउन खुकुलो बनाएका छौँ सबै जनजीवन सहज होस् भनेर। पुनः कोरोना फैलियो भने हामी नियन्त्रण गर्न सक्छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।