काठमाडौं– कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा लागू भएको निषेधाज्ञा लम्ब्याउने या नलम्ब्याउनेबारे बुधबारमात्रै निर्णय हुने भएको छ।
दोस्रो पटक लागू भएको निषेधाज्ञाको समय बुधबार मध्यरातमा सकिँदै छ। त्यसअघि नै बुधबार दिउँसो अब के हुने भन्नेबारे निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।
निषेधाज्ञा कसरी अघि बढाउने, स्परुप परिर्वतन गर्ने वा यही रुपमा अघि बढाउने भन्नेबारे अनौपचारिक छलफल भने भइरहेको उनले बताए।
काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ।
उपत्यकाका मेयरहरुको बैठक बस्दै
काठमाडौ उपत्यकामा जारी निषेधाज्ञाका विषयमा समीक्षा गर्न उपत्यका मेयरहरुको फोरमको बैठक मंगलबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा बोलाइएको छ।
यसअघि लगाएको निषेधज्ञाको अवधि बुधबार सकिन लागेकाले थप्ने वा नथप्ने विषयमा सुझाव दिनका लागि छलफल गरिने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए। ‘यसअघि साउन १७ गतेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदैछ। निषेधाज्ञाको सकारात्मक/नकरात्मक दुवै पक्षका विषयमा छलफल हुन्छ,’ महर्जनले नेपाल लाइभसँग भने, ‘त्यहीँ बैठकले निषेधाज्ञाबारे साझा धारणा बनाएर सम्बन्धित निकायमा सुझाव पेस गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।