काठमाडौं- काठमाडौं महानगरपालिकाले कारोना संक्रमितकाे सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न अपरेसन सेन्टर स्थापना गरेको छ। हरेक दिन कोरोना संक्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो।
पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ। कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम सुरु भइसकेको छ। यसबाट संक्रमितकाे पहिचान गर्न ठूलो सहयोग हुन्छ। यस कार्यलाई प्रभावकारी बनाउनकै लागि कामपाले १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ भने थप २० स्वयंसेवक पनि परिचालन गरिसकेको छ।
आवश्यकता हेरी थप अरु कर्मचारी पनि भर्ना गरिने प्रमुख कुँवरको भनाइ छ। यसअघि स्वास्थ्यकर्मीको पनि समस्या रहेकाेमा अब त्यो समस्या केही कम हुने उनले बताए। टोलीले ३२ वटै वडामा यसअघि खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मीसँग सहकार्य गरी काम गर्नेछन्। त्यसैगरी उक्त टोलीले होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको सहजताको काम गर्नेछन्। टोलीलाई ‘केस’को पहिचान गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङ गरी पिसीआर परीक्षण गर्नेसम्मको अधिकार रहेको छ।
विभाग प्रमुख कुँवरले कामपामा परीक्षण गर्दा लक्षण नदेखिएका संक्रमितलाई राख्न बालाजुस्थित बाइसधारा पार्कको भवन प्रयोग गर्ने पनि जानकारी दिए। महानगरले अहिलेसम्म चार जनाको सहयोगमा पिसीआर परीक्षण गरिरहेको थियो। अब सो सङ्ख्या बढेर करिब १० जना पुग्ने विभागले जनाएको छ। अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्रै करिब नौ हजार कोरोनाका बिरामी छन् भने काठमाडौँ जिल्लामा मात्रै छ हजार बिरामी भइसकेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।