बागलुङ–बागलुङको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्यायो। रातको समयमा बाढी आउँदा ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए। बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन्।
हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम भइरहेको छ। तर बाढीको वितण्डा यतिसम्म देखियो कि भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए। फलस्वरुप परिवारले आफ्नै सन्तानको शवसमेत जलाउन पाएनन्। अर्कैले जलाइदिए।
बाढीमा बेपत्ता भएका २२ वर्षीय नारायण विकको शव घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको शव भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो। आफन्तले पनि नारायणको शव प्रेमको ठानेर बुर्तिवाङघाटमा जलाए। प्रेमका आफन्तले अर्कैको शव जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो शव फेला प¥यो। फेरि पुनको शव बुर्तिवाङघाटमै जलाइयो। तर नारायणका परिवारले आफ्नो छोराको शव भेटिँदासमेत दाहसंस्कार गर्न पाएनन्।
भदौ १९ गते जलाइसकेको शव आफ्नो छोराको भएको २० गते प्रेमको परिवारले दोस्रो दाहसंस्कार गरेपछि मात्रै थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए। ‘प्रहरीले मलाई थाहै नदिई मेरो छोराको शव अर्कैको भनेर बुझाएर दाहसंस्कार भइसकेको रहेछ’, तुलबहादुरले भने, ‘मेरो छोरालाई प्रेम पुनको शव भनेर जलाएको भोलिपल्ट उनको शव फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते जलाएको शव मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो।’
आफ्नो छोरा नारायण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उनको भनाइ छ। भदौ १९ गते फेला परेको शव एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरिएको उनले बताए। ‘कसैले दुईपटकसम्म दाहसंस्कार गर्न प¥यो, आफ्नो छोरालाई अर्कैले जलाएछन्, मैले दाहसंस्कारै गर्न पाइनँ,’ उनले भने। नारायणलाई १९ गते नै जलाएको थाहा पाएपछि कपाल मुण्डन गरेको उनको भनाइ छ।
तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बेपत्ता बनाएको छ। तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको शवसमेत देख्न नपाई जलाइएकामा उनको दुखेसो छ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीले फेला परेको शव क्षतविक्षत भएकाले पहिचानमा समस्या भएको बताए। ‘१९ गते फेला परेको शव ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दाहसंस्कार गर्नका लागि बुझायौँ’, भण्डारीले भने, ‘त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो शव फेला परेपछि बल्ल सनाखतमा समस्या भएको थाहा पाइयो।’
प्रहरीका अनुसार सोमबारमात्रै नारायणका बुबा तुलबहादुरले ल्याएको तस्बिरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको शव नारायणको भएको सनाखत गरिएको छ। फेला पर्ने अधिकांश शवको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण समस्या भएको प्रहरीको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।