काठमाडौं- विशेष अदालतले आफ्ना दुई उत्कष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै निजामती दिवस मनाएको छ। १७ औं निजामती सेवा दिवसको अवसरमा वर्षभरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने नायव सुब्बा रामकृष्ण सापकोटा र हलुका सवारी चालक अमृतबहादुर सुनुवारलाई सम्मानपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराका साथ विशेष अदालतका अध्यक्ष शिवराज अधिकारीले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेका थिए। उक्त कार्यक्रममा विशेष अदालतका न्यायाधीशहरु , रजिष्ट्रार, उपरजिष्ट्रारद्वय, अधिकृत तथा कर्मचारीहरुको सहभागिता रहेको थियो। विशेष अदालतका अध्यक्ष शिवराज अधिकारीले निजामती कर्मचारीबिना न्याय निरुपणको कल्पना पनि गर्न नसकिने बताए।
न्याय सम्पादनमा कर्मचारीको भूमिकाको प्रशंसा गर्दै उनले न्यायिक सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका रहने हुँदा सबै कर्मचारीहरुले आ-आफ्नो पेशागत निष्ठा, लगनशीलता र इमान्दारीतामा ध्यान दिनुपर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दैै विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले राष्ट्रसेवक कर्मचारीले व्यवसायीक जीवनको हरेक क्षणमा आफ्नो कार्यकुशलता र आफूमा अन्तर्निहित क्षमता प्रदर्शन गर्दै सेवा प्रवाहमा दत्तचित्त भएर लाग्न आग्रह गरेका थिए। पुरस्कृत कर्मचारीले पुरस्कारको मर्यादा र गरिमालाई मनन गरी काम गर्नुपर्ने उनले बताए।
विशेष अदालतका वरिष्ठ न्यायाधीश कृष्ण गिरीले कर्मचारीको जीवनमा पुरस्कारको ठूलो महत्व हुने बताए। कार्यक्रममा अदालतका शाखा अधिकृत केशव पराजुलीले ‘निजामती सेवा र हामी’ शीर्षकको कविता वाचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।