काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको बताएका छन्।
निजामति दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्थाअनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
उनले यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत् जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
‘नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको छ। लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पुर्याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ, उनले भनेका छन्। निजामती सेवाको यस्तो भूमिकामार्फत् नै मुलुकको आर्थिक-सामाजिक विकास गर्न सकिने पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
उनले कोभिड–१९ लगायत समय–समयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपदका अवस्थाहरुमा कर्मचारीहरुले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।