काठमाडौं- रातो मच्छिद्रनाथको रथ आज तानिने भएको छ। ज्यापु समाजका अध्यक्ष चन्द्र मर्हजनले आजै १५ मिटर रथ तानिने र विधिवत् रुपमा पुजा सकिने जानकारी दिए।
आज स्वयंसेवक, रथ तान्ने, बाजागाजा बजाउने गरी जम्मा ५०१ जना भेला हुन लागेको उनले बताए। ‘अस्ति रोकिएको रथ आज १५ मिनेट जति तानेर विधिवत् रुपमा अन्त्य गरिने भएको छ,’अध्यक्ष महर्जनले भने, ‘२६ गते देवतालाई बुङमती पुर्याइनेछ।’
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए। ‘उहाँहरुले रथ पुजा गर्ने भनेपछि हामीले आवश्यक सुरक्षा व्यवस्था गरेका छौं,’ भट्टले भने, ‘सामाजिक दूरी कायम राखी उहाँहरुले पुजा गर्नुहुनेछ।’
बिहीबार नै स्थानीयले रथ तान्दा प्रहरी र स्थानीयबीच झडप भएको थियो। स्थानीय र प्रहरीबीच झडप भएपछि ज्यापु समाज र गुठी संस्थान लगायतका नेवार समुदायका १९ वटा संस्थाले सामाजिक दूरी कायम गरेर आज यो वर्ष रातो मच्छेन्द्रनाथको पुजा गरी विधिवत् अन्त्य गरी २६ गते देउता बुङमती पुर्याउने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।