काठमाडाैं-भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर ताल्चा लगाइयो। यो अमानवीय कार्यको नेतृत्व गरेका थिए वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले, जो तिनै जनताका मतबाट निर्वाचित भएका थिए।
४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो। त्यहाँ रहँदा श्वासप्रश्वासमा समस्या आएपछि हाल उनलाई पाटन अस्पतालमा भर्ना गरिएको छ।
समुदायलाई कोरोना सार्न सक्ने भन्दै परिवारका सदस्यलाई बाहिरबाट ताला लगाएर भित्रै थुनिएको छ। आफूमाथि यस्तो व्यवहार भएपछि पीडित परिवार थप मानसिक तनावमा परेको छ। घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्रसित भएका छन्।
वडाध्यक्षसहितको टोलीले संक्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जनालाई घरभित्रै राखेर मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई जिम्मा दिएको थियो।
000
भदौ ६ गते मध्य बानेश्वरमा निजामति (सिभिल) अस्पतालले आफ्ना कर्मचारीलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरेको घर स्थानीय मानिसहरुले घेरे। उक्त क्षेत्रमा संक्रमित राख्दा त्यहाँको समुदायमा कोरोना संक्रमण हुने उनीहरुको जिकीर थियो।
अस्पतालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा मध्यबानेश्वर मिलनचोकमा रहेको एक होस्टलमा आफ्ना २५/३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको थियो। त्यहाँ क्वारेन्टाइनमा राखिएका कुनै पनि कर्मचारी कोरोना संक्रमित थिएनन्।
अस्पतालमा ड्युटी गर्न सजिलो र नजिक हुने भएकाले उनीहरुलाई त्यहाँ राखिएको थियो।
रातदिन उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको यो दुब्र्यबहार सार्वजनिक भयो। तर अहिलेसम्म यस्तो व्यवहार गर्ने कसैमाथि पनि कारबाही भएको छैन। उल्टै उक्त क्षेत्रका वडाध्यक्षले समुदायले गरेको विरोध ठीकै भएको भन्दै बचाउ गरे। यो घटना त्यत्तिकै सेलायो। स्थानीयले अनावश्यक रुपमा विरोध गर्दा स्वास्थ्यकर्मीले मानसिक तनाव खेपे। यो घटनालाई लिएर स्थानीयको धेरै विरोध भयो। ‘बिरामी हँुदा अस्पताल चाहिदैन?’ भन्दै आलोचना भयो ।
000
चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा विश्वबन्धु बगालेलाई साउन २६ गते कोरोना पुष्टि भयो। उनीसँगै श्रीमतीलाई पनि कोरोना देखियो। अस्पतालमा बिरामीको सेवामा दिनरात खटिएका उनीहरु त्यहीकारण कोरोना संक्रमित भए।
बगाले दम्पतीलाई कोरोना पुष्टि भए पनि कुनै लक्षण देखिएको थिएन। त्यसैले उनीहरु होम आइसोलेसनमा बसे। सँगै रहेका छोराको भने कोरोना नेगेटिभ आएपछि उनीहरु छुट्टाछुट्टै होम आइसोलेसनमा बसेका थिए।
तर डा. बगालेको घरमा साउन ३० गते बिहान भने अचम्मको घटना भयो। बिहान साढे ७ बजेतिर उनलाई फोन आयो। फोनमा उनलाई बाहिर निस्कन भनियो। उनको घरमा भरतपुर वडा नं ४ का वडाध्यक्ष हरिहर आचार्यको नेतृत्वमा टोल सुधार समितिका केही मानिसहरु आएका थिए। उनीहरुको हातमा ब्यानर थियो र ब्यानरमा लेखिएको थियो, ‘कोरोना संक्रमितको घर।’ उनीहरु कोरोना सर्न सक्ने भन्दै सचेत गराउन ब्यानर टाँस्न आएको डा बगालेलाई बताए। यो देखेर उनी अचम्ममा परें। दिनरात बिरामीको हेरचाह गर्दा संक्रमित हुनुपर्ने अनि जनप्रतिनिधिबाटै यस्तो अपमान भनेर प्रतिकार गरे पछि उनीहरु नटाँसी फर्के।
000
संघीय संसदको लेखा समितिका सचिव रोजनाथ पाण्डे कोरोना संक्रमित भए। संक्रमित भएपछि अस्पताल जानुभन्दा घरमै बस्न ठीक होला भनि उनी होम आइसोलेसनमा बसे। सुरुमा लक्षण देखिए पनि पोजेटिभ आएपछि कुनै लक्षण नभएपछि उनी घरमै बसे। यसरी घर बस्दा उनले समाजको अपहेलना पनि भोगे। छिमेकी, आफन्त र जनप्रतिनिधिले गर्ने व्यवहारको उनी भुक्तभोगी भए। संक्रमित नभएका परिवारका सदस्यलाई बाहिर निस्कन नदिने, निस्केमा शंका गरेर हेर्ने, परै बस्न खोज्ने, घरपरिवारमा आउन नपरे हुनेजस्ता व्यवहार उनले भोगे । कोरोना संक्रमित हुनु भनेको ठूलै गल्ती गरेको झंै अपमान उनले भोगे।
000
भदौ ५ गते संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड भयो। तोडफोड गर्ने समूहले स्वास्थ्य सामग्रीसमेत चोरी गर्यो। खाँदबारी नगरपालिका–७ नयाँ बजारमा रहेको हिमालय किरण क्याम्पसमा जिल्ला अस्पतालले आइसोलेसन निर्माण गरेको थियो। आइसोलेसनमा तोडफोड गरी स्वास्थ्य सामग्री चोरी गरेको आरोपमा उक्त क्याम्पसका प्रमुख नै पक्राउ परे। यसरी आइसोलेसन तोडफोड गर्नुको कारण चोरीभन्दा पनि संक्रमित राख्न नदिने उद्देश्य थियो।
भक्तपुर,चितवन, संखुवासभा र बानेश्वरका घटना प्रतिनिधि घटनामात्र हुन्। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यस्ता घटना बढेका देखिन्छन्। सुरुमा रोगदेखि पर बस्दै आएका मानिसहरु संक्रमण आफू नजिकै आएपछि झन् फरक र प्रतिरोधी व्यवहार देखाउन थालेका छन् ।
यस्ता घटनाहरु भइरहेको समयमा सर्वोच्च अदालतले पनि कोरोना संक्रमितहरुको परिचय खोल्न नपाउने फैसला गरेको छ। संक्रमितकोे अनुमति विना सामाजिक सञ्जाल फेसबुक, ट्वीटरजस्ता माध्यममा राख्न नपाउने, सार्वजनिक सञ्चार माध्यमले पनि प्रकाशन गर्न नपाउने व्यवस्था मिलाउन सरकारको नाममा सर्वोच्चले परमादेश जारी गरेको छ।
सर्वोच्चले व्यक्तिको ठेगाना र परिचयसमेत खोल्न नपाउने भनेको छ। विदेशतिर संक्रमितको परिचय झन् खुल्ला गर्ने गरेकोमा नेपालमा भने गलत व्यवहार भइरहेकाले सर्वोच्चले गोप्य राख्न भनेको हो।
यी घटनाहरुका कारण धेरै भए पनि रोगको बारेमा पर्याप्त बुुझाउन नसक्नु मुख्य कारण भएको मानवशास्त्री सुरेश ढकालको बुझाइ छ। ‘मानिसलाई रोग र यो कसरी सर्छ भन्नेबारेमा पर्याप्त जानकारी नै भएन,’ ढकाल भन्छन्, ‘शिक्षाको कमि भन्ने हो भने मध्यबानेश्वरमा यस्तो घटना भयो यो रोगप्रतिको चेतनाको कमि हो ।’
आजसम्म जुन खालको कोरोनाको संक्रमणबारे प्रचार भयो त्यसका कारण पनि यस्ता घटना भएको उनको बुझाइ छ। ‘सडकमै निस्केपछि प्रहरी लखेट्न आउँछ’ ढकालले भने, ‘अनि मानिसहरुले संक्रमितसँग दुरी बनाउन खोज्छन्।’ सम्पर्कमा आएमात्र सर्छ भनेर बुुझाउन नसक्दा टोल छिमेकमै आए पनि मानिस डराउन वाध्य भएको उनको भनाइ छ। मिडियाले रोग र यो कसरी संक्रमण हुन्छ प्रभावकारी रुपमा बुझाउन नसकेको उनको अनुभव छ। यति मानिसमा संक्रमित भए, मृत्यु भयो भन्नेजस्ता त्रासदीको पछि सञ्चार माध्यम लागेकाले पनि मानिसहरुमा डर धेरै भएको उनको बुझाइ छ।
विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी भन्न हुँदैन भने पनि सरकारदेखि सञ्चार माध्यमसम्मले त्यहीमात्र भनिरहेको प्रति पनि उनले असहमति जनाए। शव्दको चयन र गलत प्रकारका सूचनाले पनि यस्ता घटना भएको ढकालको ठहर छ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्रकी प्राध्यापक मीना उप्रेतीले समाज र व्यक्ति दुवैको प्रवृत्ति अहिले हावी भएको अनुभव गरेकी छन्। ‘कोरोनाको बारेमा मान्छेमा धेरै त्रास फैलिएको छ, रोग के हो भन्ने हामीलाई बुझाएका छैनन्,’ उनले भनिन्, ‘समुदायमा एउटामा लागेपछि अरुमा पनि लाग्ने हो कि भन्ने डरले काम गरेको छ।’
यस्तो प्रवृत्ति गाउँमा भन्दा अलि शिक्षित मानिसहरुको बासोबास भएको सहरहरुमा धेरै देखिनु डरलाग्दो भएको उनको बुझाइ छ।
‘गाउँमा बरु मानिस मिलेर बसेका छन्, बिरामी नै भए पनि सबै मिलेर राखेको सुनिएको छ,’ उप्रेतीले भनिन्, ‘तर सहरमा संक्रमितमाथि दुर्व्यवहार गर्ने, होच्याउने, घरमा बस्न नदिने जस्ता घटनाहरु सुन्नु परेको छ ।’
यो प्रवृत्ति अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्ने उनको बुझाइ छ। ‘नपढेका भन्दा पढेका र पढेकाभन्दा अझ समाज बुझेका मानिसहरु यस्तामा सहभागी भएका छन्,’ उप्रेतीले भनिन्, ‘महामारी भोलि पनि आउँछन समाजलाई बुुझाउनु पर्ने वर्ग नै यसरी उच्छृंखल हुन थाल्यो भने समाज गलत बाटोमा जान्छ ।’
यस्तो प्रवृत्ति बढ्दै गए समाजका लागि हानिकारक हुने उनको बुझाइ छ। ‘समाजलाई सही बाटोमा डो¥याउनु पर्ने वर्ग नै गलत क्रियाकलापमा सहभागी भए पक्कै राम्रो हुदैन यसलाई समयमै सुधार्नुपर्छ,’ उनी भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।