काठमाडौं-संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिना पक्राउ परेका छन्। क्याम्पसमा बनाइएको आइसोलेसन वार्ड तोडफोडको आरोमा प्रहरीलाई उनलाई पक्रेको हो।
खाँदबारीमा रहेको क्याम्पसमा बनाइएको आइसोलेसन वार्ड तोडफोड गरी सामान लिएर हिँडेपछि तिम्सिना पक्राउ परेका हुन्। क्याम्पस हाताभित्रको आइसोलेसन वार्डबाट मास्क, स्यानिटाइजर, पिपिईलगायतका सामान चोरी भएको खाँदबारीस्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
संखुवासभाका विभिन्न स्थानमा कोरोना संक्रमण देखिन थालेपछि सदरमुकाममा रहेको क्याम्पसलाई आइसोलेसन सेन्टर बनाइएको थियो।
जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै भदौ ४ गते साँझ क्याम्पस प्रमुख तिम्सिनाको अगुवाइमा आइसोलेसन वार्डमा जिल्ला अस्पतालले लगाएको चाबी फोडी तोडफोड गर्दा वार्डमा रहेका कार्डियाक मनिटर, सक्सन मेसिन, तार, अक्सिजन पाइप, युरिनल पटलगायत हराएको र १५ लाख बराबरको क्षति भएको भनी जिल्ला अस्पतालको जाहेरीपछि तिम्सिनालाई पक्राउ गरिएको जनाएको छ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।