काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले एसिडपीडित किशोरी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन। भट्टराईले जन्मदिनको अवसरमा कक्षा ९ मा अध्ययनरत खातुनलाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन्। एक वर्ष अगाडि गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए।
एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले सहयोग गरेको उनको सचिवालयले जनाएको छ।
सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए। उनले भने, ‘मलाई विश्वास छ, तपाईं भविष्यमा डाक्टर बन्नुहुनेछ। मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला।’
उनले एसिडपीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जिन्दगीभर सम्बन्ध रहिरहने बताए। पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटार बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने वचन दिएका थिए।
२०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित तथा विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन। ०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको सुरुवात गरेका मन्त्री भट्टराइले ०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पठनपाठनको व्यवस्था मिलाएका थिए।
०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए भने ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गरेका थिए। गत वर्षको जन्मदिनमा उनले दृष्टिविहीन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।