सिन्धुपाल्चोक-बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदि पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरेका छन्। होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गरेका हुन्।
एक सय ७२ घरधुरीलाई प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ती एक प्याकेट वितरण गरिएको हो। जिल्लाको जुगल–३ लिदिमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने ३ जना अझै बेपत्ता छन्।
पहिरोपीडितका लागि पर्साको ठोरी–४ मा गठन भएको राहत संकलन समितिले छ लाखभन्दा बढी संकलन गरी सहयोग गरेको छ। शनिबार बिहान पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल –१ स्थित बाँसखर्क पुगेर रु छ लाख ४३ हजार नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिए।
यही भदौ २ गते वडा नं ४ को घ्याङडाडामा वडाध्यक्ष बईबहादुर तामाङको अध्यक्षतामा बसेको भेलाले पहिरोमा परी घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकालाई राहत वितरण गर्ने उद्देश्यले १३ सदस्यीय समिति गठन गरेको थियो । समितिले समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको हो।
पहिरोले पूर्णरूपमा घर क्षति भएका र आफन्तसमेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजार, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५०० का दरले र एक जना घाइतेलाई रु १० हजारका दरले राहत रकम प्रदान गरिएको छ। समितिमार्फत संकलित रकम शनिबार प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको अध्यक्ष पाख्रिनले बताए। साउन ३० गते लिदिमा गएको पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका थिए भने ३७ घर पुरिएका थिए। अझै दुई जना बेपत्ता छन्।
यस्तै, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पहिरोपीडितलाई पनि राहत वितरण गरिएको छ। तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाले रु एक लाख ६० हजार वितरण गरिएको अभियन्ता कृष्ण तामाङले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।