काठमाडौं–निजी स्वास्थ्य संस्थाहरुको संस्था एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) ले निजी ल्याबहरुको रिपोर्टका आधारमा बिमा भुक्तान नगर्ने बिमा समितिको निर्णय विभेदकारी र असहिष्णु भन्दै विरोध जनाएको छ।
अफिनका अध्यक्ष बसन्तकुमार चौधरीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट अनुगमन, निरीक्षणका साथै आवश्यक सम्पूर्ण प्रक्रियागत रीत पूरा गरी स्वीकृति लिएर सेवा सञ्चालन गरिरहेका निजी ल्याबहरुको रिपोर्टका आधारमा बिमा भुक्तानी नगर्न बिमा समितिले दिएको उक्त निर्णयप्रति खेद व्यक्त गरेका हुन्।
‘यो नीति निजी ल्याबहरूका लागि त गैरजिम्मेवार छँदैछ, यसले आमनागरिकलाई आफ्नो रोगको निदान गर्न पाउने नैसर्गिक अधिकारमा समेत बन्देज लगाएको छ। यो अत्यन्त अमानवीय निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ।
इजाजतप्राप्त ल्याबहरूको रिपोर्टलाई अहिले आएर मान्यता नदिने निर्णयलाई सरकारको हतासपूर्ण, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायीपनको पराकाष्टाको रूपमा बु्झ्न सकिने अफिनले उल्लेख गरेको छ।
‘यस्तो गैरजिम्मेवार एवं द्वैध प्रवृत्तिजनक निर्णय अविलम्व खारेज गरी राज्यले अंगीकार गरेको प्राइभेट, पब्लिक, पार्टनरसिपको अवधारणाअनुरूप इजाजत प्राप्त निजी क्षेत्रलाई कुनै पनि कमी–कमजोरीको प्रमाणविना निर्वाधरूपमा कार्य गर्न पाउने अधिकारबाट वञ्चित गर्ने कुनै पनि नीतिनियम निर्माण गर्ने कार्य अविलम्ब बन्द गर्न सम्बन्धित पक्षलाई अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।