काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सवारी नम्बर प्लेट अंग्रेजी नै कायम हुने सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति जनाएका छन्। उनले शनिबार ट्वीट गर्दै सवारीसाधनमा लेखिने भाषामा सर्वोच्चले गरेको फैसला आपत्तीजनक भएको जनाएका हुन्।
सरकारले सवारीसाधनमा उच्च प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गर्न डेकाटोर टाइगर नामक कम्पनीलाई जिम्मा दिएको थियो। सरकारले ठक्का दिँदा नम्बर प्लेटमा लिखिने अक्षर र अंक अंग्रेजीमा हुने व्यवस्था गरेको थियो। त्यसविरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अंग्रेजी नै कायम हुने फैसला गरेको थियो।
ट्वीटमा थापाले लेखेका छन्, ‘सवारी साधनमा नेपाली भाषामा नम्बरप्लेट लेखिनुपर्छ भन्ने माग राप्रपाले बारम्बार उठाउँदै आएको छ। यसवारे सर्वोच्च अदालतको पछिल्लो फैसला आपत्तिजनक छ।’
नम्बर प्लेटमा प्रयोग हुने भाषाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक निर्णय लिने अपेक्षा गरेको समेत उनले बताएका छन्।
नम्बर प्लेटमा प्रयोग हुने भाषाका बारेमा प्राज्ञहरूले समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
२०७४ फागुन १० देखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान सर्वोच्चले २०७६ मंसिर अन्तिम साता फैसला गरेसँगै बाटो खुलेको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले यो विवादसम्बन्धी मुद्दा खारेज गर्ने फैसला गरेपछि विभागलाई काम गर्ने बाटो खुलेको हो। अधिवक्ता भरतकुमार बस्नेत र राजन वुर्लाकोटीले दायर गरेको रिट ०७६ मंसिर २७ मा सर्वोच्चले खारेज गर्ने फैसला गरेको थियो।
२०७४ फागुन १० गते अन्तरिम आदेशमार्फत् सर्वोच्चले इम्बोस्ड नम्बर प्लेट जडान रोक्न भनेको थियो। तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले अधिवक्ता भरकुमार बस्नेतले दायर गरेको रिटमा कारण देखाऊ आदेश दिँदै नम्बर प्लेट जडान यथावत राख्न आदेश दिएका थिए।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि भने विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले अमेरिकी र बंगलादेशको संयुक्त कम्पनी डेकाटोर टाइगरसँग २०७३ वैशाखमा सम्झौता गरेका थिए। उक्त सम्झौता अनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान र प्लट रिड गर्न सक्ने १० वटा आरएफआइडी गेट बनाउने भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।