काठमाडौं–टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ।
नगरपालिका कार्यालय भदौ २१ देखि भदौ २६ सम्म बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीमा संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए।
कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए। टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन्। जसमध्ये ९४ जना डिस्चार्ज भइसकेका छन् भने १६० जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। नगरपालिकाले कोरोना संक्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ।
अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरे पनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पुर्याउने नगरपालिकाले जनाएको छ । होम आइसोलेसनमा बसेर कोरोना उपचार गराईरहेका बिरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।