पोखरा–कोरोना संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा पुनः एक हप्ता थपेको छ। कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवं सावधानीलाई कडाइका पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो। यसअघि जारी निषेधाज्ञा आज शनिबार राति १२ बजे सकिँदै थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ। मानिसले बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक–पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र बिजोर गते बिजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ।
सार्वजनिक भेला र भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्नुपर्नेछ। कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ। आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्यवस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।