काठमाडौं-कोरियन एयरलाइन्सले नेपाल फर्कनका लागि आएका ३७ युवालाई इन्छन विमानस्थलबाटै फिर्ता पठाएको छ।
नेपाली समय अनुसार बिहीबार साँझ ८ः१५ बजे नेपाल उड्ने गरि २५० भन्दा बढी नेपाली विमानस्थल पुगेका थिए। फर्कन नपाएका युवाहरुको पिसीआर रिपोर्टको आवश्यक मापदण्ड नपुगेको जनाउँदै फर्काइएको बताइएको छ। पिसीआर परीक्षणको समय म्याद गुज्रेको, अस्पतालको छाप नभएको र केहीको फोटोकपी मात्रै भएकाले एयरलाइन्सले फर्काएको एनआरएन कोरियाका पूर्व अध्यक्ष विनोद कुँवरले जानकारी दिए।
अस्पतालले हेलचक्रयाइँ गरि आधिकारिक छापसमेत नलगाएकोे उनले बताए। केही युवाको कोरोना परीक्षणको रिपोर्ट उल्लेख नभएको बताइएको छ। नेपाल फर्कनका लागि आवश्यक मापदण्ड पुरा गरेपछि अर्को उडानमा उनीहरु फर्कने कुवँरले जानकारी दिए।
प्रतिव्यक्ति १३ लाख ५० हजार वन हवाई शुल्क युवाहरुले तिरेका थिए। उक्त रकम करिब एक लाख ३० हजार रुपैयाँ हुन्छ। युवाहरुलाई नेपाल फर्काउने पहल केएमइ ग्रुपले गरेको थियो।
यसअघि उद्दार उडानका लागि एनआरएन कोरियाको पहलमा जुन २०, जुलाई १० तथा जुलाई ३० मा युवाहरु नेपाल फर्केका थिए। बिहीबारको उडानमा एनआरएन कोरियाको भूमिका नरहेको महासचिव विमल सुवेदीले बताए।
ज्वरो आएका, पिसीआर परीक्षणको रिपोर्ट अस्पष्ट भएका तथा रिपोर्टमा मितिसमेत नभएका ३७ यात्रुहरु रोकिएको कोरियास्थित नेपाली दूतावासले जनाएको छ। ‘पिसीआर परीक्षणको रिपोर्ट अस्पष्ट भएका, रिपोर्टमा मिति नखुलाइएका तथा ज्वरो आएका ३७ नेपालीहरु विमानस्थलमा रोकिनुभएको छ। यसबारे हामीले परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकेका छौँ’, नेपाली दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले नेपाल लाईभसँग भने ।
नेपाल सरकारले नियमित उडान संचालनका लागि अनुमति दिएको भए पनि कोरियन एयरले टिकट खरिद गर्न नमिल्ने बनाएको संघले जनाएको छ। उद्दार उडानको जिम्मा पाएको संस्थाले एकाधिकार रुपमा चार्टर्ड मोडालिटीमा महँगो दरमा उडान गरेको गुनासो आएको थियो।
महँगो भाडादरका सम्बन्धमा कारबाहीका लागि सम्बन्धित सरकारी निकायमा निवेदन दिने एनआरएन कोरिया शाखाले जनाएको छ। प्राविधिक कारणले फिर्ता हुनु परेका ३७ जना नेपाली नागरिकलाई अर्को उडान नहुँदासम्म बसोबास र खानाको व्यवस्था गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।