बागलुङ- बाग्लुङमा आएको बाढीले ढोरपाटन–७, ८ र ९ का ४० घर बगाएको प्रारम्भिक तथ्यांक छ। बेपत्तामध्ये बिहीबार साँझसम्म १४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।
भेटिएका शवमध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको सनाखत भएको प्रहरीले जनाएको छ।
बस्तीदेखि १५ किलोमिटर तल खोलाको तीरमा पनि केही शव भेटिएका छन्। ‘क्षतविक्षत शव र केहीका हातखुट्टा मात्रै भेटिएकाले पहिचानमा समस्या भएको छ’, प्रजिअ न्यौपानेले भने, ‘बेपत्ताको खोजी जारी छ।’
स्थानीयका अनुसार उक्त क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती फलेघरभन्दा करिब ५ सय मिटरमाथि पहिरो खसेर भुजीखोलाको बहाव थुनिएको थियो।
खोलाले एकैचोटि अवरोध खोलेर बाढीको रूप लिँदा झन्डै १० किलोमिटर तलसम्मको दुवै किनारका बस्तीमा क्षति पुर्याएको हो। बाढीले खेतीयोग्य जमिनको पनि ठूलो क्षेत्रफल बगाएको छ।
मध्यरातको घटनाबारे आसपासका सुरक्षाकर्मीको युनिटले बिहीबार बिहान मात्र थाहा पाएका थिए। खोलाले ढुंगामाटो ल्याएर पुरेका बस्तीको भग्नावशेषबाट इलाका प्रहरी कार्यालय बुर्तिवाङ, घोडाबाँधेस्थित नेपाली सेनाको अर्जुन वाँण गणको टोली र स्थानीयले पहिरो पन्छाएका हुन्। बेपत्ताको खोजी र उद्धारको काम जारी रहेको उनले बताए।
बाढीपहिरोले ३ लघुविद्युत्, ३ पानीघट्ट, सुपुर्दुङ आधारभूत विद्यालयको एउटा भवन, खानेपानीका केही धारा तथा ट्यांकी र गाउँघर स्वास्थ्य क्लिनिकको भवनसमेत बगाएको छ। एउटा पिकअप भ्यान र दुईवटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ।
सबै मस्त निदाएका बेला भएको घटनाले धेरैजसो घरसँगै बगेर बेपत्ता भएको न्यौपानेले बताए। घटनामा बाँचेकाहरू सकुशल रहेको र पुरिएकाहरूको अवस्था यकिन नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।