रौतहट- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडाभन्दा कडा सजाय दिलाउने बताएका छन्। रौतहटको गरुडा र माधवनारायण नगरपालिकामा पछिल्लो समयमा भएका घटनाका पीडित परिवारहरुसँग मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नुपर्ने बताए।
गरुडा नगरपालिकाको जिङ्गडियामा हत्या भएको राम परिवार सँगको भेटमा राउतले गरुडा घटनाबारे सूक्ष्म छानबिनका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भइसकेको र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताए।
मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने बताए।
सोही अवसरमा मन्त्री यादवले दोषी प्रहरीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरिसकेको बताए। न्याय पाउने विषयमा विश्वस्त रहन उनले पीडित परिवारलाई आग्रह गरे।
त्यस्तै, माधव नारायण नगरपालिकामा हत्या गरिएका पुजारी राम साहको हत्यास्थल पुगेका मुख्यमन्त्री राउतले उनको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गराउने प्रतिबद्धता व्यक्त गरे। साधु जस्तो व्यक्तिको हत्या गर्नेलाई फाँसीको सजाय पनि कम हुने उल्लेख गर्दै उनले त्यस्ता अपराधीलाई ईश्वरले पनि माफ गर्न नसक्ने बताए।
कार्यक्रममा आन्तरिक मामिलामन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।