डोटी–कोरोना संक्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआम रुपमा मदिरा बिक्री वितरण भइरहेको छ। मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ। मदिरा खाए कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएका कारण पनि चुनौती बढेको हो। यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन्।
कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए। उनले भने, ‘‘मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत हुन थालेका छन्।’
मदिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरे पनि सफल हुन सकेको छैन।
मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दर्जनभन्दा बढी घटना भएको प्रहरीको तथ्यांंकमा छ। यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा मदिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरे पनि त्यो कागजमा मात्रै सीमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ।
गाउँघरमा हुने अधिकांश घटनाको प्रमुख कारण मदिरा भए पनि यहाँका गाउँमा बिक्रीवितरण हुने मदिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ। मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकीछिपी तथा कोरोनाबाट बँच्न भन्दै मदिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन्।
जिल्ला सदरमुकामलगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियमविपरीत मदिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्वारियाले बताए। उनले भने, ‘बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम मदिरा बिक्रीवितरण भइरहेको छ, रोक्नको साटो नेता नै पक्राउ परेका छुटाउन खोज्नछन्, त्यसले झनै चुनौती थपिएको छ।’
मदिरा सेवनका कारण ठूलै घटना नभए पनि सामान्य घटनाहरु दैनिक जसो गाउँमा घट्न थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए। उनले भने, ‘प्रहरीको सामुन्ने कसैले पनि मदिरा बेच्दैनन, प्रहरी नभएको बेला मदिरा बिक्री भइरहेको छ।’
यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा मदिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आरोप छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा मदिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उजुरी परेका छन्। डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागू गरे पनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ।
उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गरे। उनले भने, ‘अवैध मदिरा कारोवारीलाई कारबाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनौंं, पहिलेभन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ, अबैध मदिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।