बागलुङ-बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। सुकुर्दुङस्थित भुजी खोलाको बाढीमा बेपत्ता हुनेमध्ये ८ जनाको शव फेला परेको र १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएको छ। घटनास्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ।
‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ’, रेग्मीले भने। अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।