काठमाडौं–बागलुङको ढोरपाटन नगरपालिकामा गएको बाढी र पहिरोमा बेपत्ता हुनेहरुको संख्या १३ पुगेको छ। स्थानीय धोबीखोलाको बाढी र वडा नम्बर ९ को देउरालीमा खसेको पहिरोले बुधबार राति सुप्राङ, लाँकुरीबोट र दुनेपधेराका गरी १५ घर बगाउँदा १३ जना बेपत्ता भएका हुन्। पहिरोमा परेर २ जनाको मृत्यु भएको छ।
बेपत्ता हुनेहरु ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी छन्।
बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पहिरोमा १५ देखि २० घर बगाएको अनुमान गरिएको बताए। ‘एउटा स्कुलको आधा भाग र एउटा गाडीसमेत बगाएको सूचना छ,’ उनले भने।
बाढीपहिरोबाट ६, ७, ८ र ९ वडा प्रभावित भएकामा ८ र ९ वडामा बढी क्षति भएको छ। भुजी खोलाका कतिपय पुल जोखिमपूर्ण भएकोले उद्धारमा जानेलाई पनि कठिनाइ भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।