एजेन्सी–भारत सरकारले चीनमा विकसित गरिएका १ सय १८ मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित एप्समा गेमिङ एप पबजीसमेत छ।
सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय सम्प्रभुता र अखण्डता, देशको रक्षा र व्यवस्थाविरुद्धका गतिविधिमा संलग्न रहेकाले ती एप्समा प्रतिबन्ध लगाइएको जनाएको हो।
यस कदमबाट करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको रक्षा हुने भारत सरकारको दाबी छ। ‘यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्धेश्यले गरिएको हो,’ मन्त्रालयले भनेको छ।
भारतले यसअघि एक पटक टिकटकसहित ५९ एप्स र अर्कोपटक अन्य ४७ एप्समाथि प्रतिबन्ध लगाएको थियो। योसहित हालसम्म भारतले २ सय २४ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाइसकेको छ। पछिल्लोपटक लद्धाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएपछि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।