एजेन्सी–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम ‘मन की बात’ इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ।
सरकारी रेडियो ‘आकाशवाणी’ मा हरेक आइतबार प्रसारित हुने यो कार्यक्रम सरकारी टेलिभिजन दूरदर्शनका साथै प्रेस सूचना ब्यूरो, भाजपा र मोदीको युट्युब च्यानलबाट प्रसारण हुन्छ।
तर गत आइतबार प्रसारित कार्यक्रमप्रति युट्युब च्यानलमा इन्टरनेट प्रयोगकर्ताको प्रतिक्रिया सकारात्मक कम, नकारात्मक बढी भएको पाइएको छ।
प्रेस सूचना ब्यूरो, भाजपा र मोदीको युट्युब च्यानलमा ‘मन की बात’ को भिडियोलाई डिस्लाइक बढी आएको छ।
सोमबार बिहानसम्म भाजपाको आधिकारिक च्यानलमा यो कार्यक्रममा ९ लाख ५४ हजार भ्युज थियो। यसमा २६ हजार लाइक थियो भने डिस्लाइकको संख्या २ लाख ३४ हजार थियो।
यस्तै, मोदीको च्यानलमा ५ लाख ७४ हजार भ्युज भएकोमा २३ हजार लाइक र ४६ हजार डिस्लाइक थियो।
प्रेस सूचना ब्यूरोको च्यानलमा ९५ हजार भ्युज रहेकोमा ३.२ हजार लाइक र ८.१ हजार डिस्लाइक थियो।
के भनेका थिए मोदीले ?
मोदीले ‘मन की बात’ मा हरेक पटक फरक विषयमा सम्बोधन गर्छन्। आइतबार उनले ओणम् पर्वका बारेमा कुरा गरे र भारतीय उद्यमीलाई खेलौनाको व्यवसायका बारेमा सुझाव दिए। उनले विश्वबजारमा खेलौना उद्योग ७ लाख करोडको रहेकोमा भारतीय हिस्सेदारी निकै कम भएको बताएका थिए।
यसका अलावा भारतमा कम्प्युटर गेम बनाउन पनि उनले आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।