काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र क्लबबीच रहेको सम्झौता आउँदो सिजनमा मात्र सकिने र उनको ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले अहिले त्यति रकमबिना क्लब छाडेर जान नपाउने ला लिगाले जनाएको छ।
ला लिगाको पछिल्लो विज्ञप्तीले लियोनल मेस्सीका लागि क्लब छाड्नु थप मुस्किल बन्ने देखिन्छ। अहिले ७०० मिलियनको रिलिज क्लज तिर्ने अवस्थामा कुनै पनि क्लब छैनन्। सहज रुपमा क्लब छाडेर जान चाहिरहेका मेस्सीका लागि अबको निर्णय अदालतसम्म पुग्ने देखिन्छ।
ला लिगाले आफ्नो स्टार खेलाडी गुमाउनुपर्दा हुन सक्ने घाटालाई विचार गरेर बार्सिलोनाको पक्ष लिएको फुटबल पण्डितहरुको बुझाइ छ। यदि बार्सिलोना र ला लिगाले भनेजस्तो मेस्सीले ७०० मिलियनको रिलिज क्लजबिना क्लब छाड्न नपाएमा उनी आउँदो सिजन सित्तैमा बाहिरिनेछन्, त्यसको डर भने बार्सिलोनामा देखिन्छ। मेस्सीले आफ्नो सम्झौता सकिने ६ महिना पहिले नै नयाँ क्लबसँग ‘प्रि कन्ट्रयाक्ट’ (पूर्वसम्झौता) पनि गर्न सक्नेछन्।
पाँच महिनाअघि मात्र मेस्सीको भविष्य उनको निर्णयमा नै निर्भर रहन्छ भनेर बार्सिलोना टिभिमा बोलेका अध्यक्ष जोसेप मारिया बर्टामेउले अहिले अवस्था सामान्य बनाउनभन्दा जटिलतातिर धकेलिरहेको आरोप लागिरहेको छ।
आइतबार बिहान नयाँ सिजनको तयारीका लागि खेलाडीको कोरोना परीक्षणमा पनि मेस्सी उपस्थित भएनन्। कानूनी सल्लाहकारसँगको कुराकानीपछि मेस्सी क्लबमा उपस्थित नभएको बताइएको छ। मेस्सीका कानूनी सल्लाहकारका अनुसार उनको सम्झौतामा रहेको हरेक सिजनको अन्त्यमा क्लब छाड्न सक्ने भन्ने बुँदाका आधारमा उनले छाड्न सक्नेछन्।
मेस्सीले पछिल्लो पटक २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। तर बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर नदिन क्लबले प्रयास गरिरहेको छ।
क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको रटान लगाइरहेको छ। जसका कारण विषय अगाडि बढ्न सकेको छैन। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीका कानूनी सल्लाहकारको तर्क छ।
यदि यहि अवस्थामा मेस्सीले क्लब छाडेर जाने भएमा बार्सिलोना ब्यवस्थापन अदालती प्रक्रियामा जाने देखिन्छ। जहाँ विश्व फुटबलको सबैभन्दा ठूलो ट्रान्सफर विवादमा अझ लम्बिने छ।
फुटबल जानकारहरु मेस्सीले छाडेर जाने मनस्थिति बनाइसकेकाले उनलाई रोक्नुको कुनै मतलब नभएको बताइरहेका छन्। क्लबले सुहाउँदो रकम लिएर उनी जान चाहेको क्लबसँग सम्झौता गर्नुको साटो विवाद लम्ब्याउने काम गर्न नहुने उनीहरुको तर्क छ। मेस्सीलाई लाने प्रयासमा रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटी पर्ख र हेरको स्थितिमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।