काठमाडौं- लियोनल मेस्सी बार्सिलोना छाड्न चाहन्छन्। बार्सिलोना उनलाई छाड्न चाहँदैन। यही द्वन्द्वमा अनेक हल्ला र अनुमानहरु फैलने मौका पाइरहेका छन्। बार्सिलोना ब्यवस्थापन आफू सक्षम देखिने प्रयासमा छ, मेस्सी सहज बिदाइको पर्खाइमा छन्।
नयाँ सिजनको तयारीका लागि आइतबार सबै खेलाडीको कोरोना भाइरस परीक्षण हुँदैछ। जहाँ मेस्सी उपस्थित नहुने पक्का जस्तै छ। मेस्सीले आफू उपस्थित नहुने खबर पठाएको उनका कानूनी सल्लाहकारले बताएका छन् भने क्लबले त्यो सूचना नपाएको जनाएको छ।
बार्सिलोना ब्यवस्थापन आउँदो सिजन मेस्सीलाई केन्द्रमा राखेर नै आफूहरुले योजना बनाइरहेको र उनी बिक्रीमा नरहेको रटान लगाइरहेको छ। यदि कसैले उनलाई किन्ने हो भने ७०० मिलियन युरोको रिलिज क्लज देखाएर तर्साउने प्रयासमा ब्यवस्थापन छ। जुन गएको हप्ता मेस्सीले क्लब छाड्न चाहेको बताएदेखि नै भइरहेको विषय हो।
पछिल्लो समय क्लबसँग छलफल गर्न मेस्सीले समय मागिरहेका छन्। तर ब्यवस्थापन क्लब छाड्ने छलफलमा सहभागी नहुने भन्दै तर्किरहेको छ। मेस्सी क्लबप्रतिको सम्मान र समर्थकहरुको मायाका कारण खराब शैलीमा हिँड्न चाहँदैनन्। बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ निरन्तरता दिने विषयमा कुराकानी गर्न तयार रहेको तर छाड्नेबारे कुरा नगर्ने अडानमा छन्।

मेस्सीले क्लब छाड्न चाहेको च्याम्पियन्स लिगमा बायर्न म्युनिकसँगको ८-२ को हार र उपाधिविहीन सिजनका कारण मात्र होइन। यो प्रक्रिया लामो छ, जसमा पछिल्लो समयको कारण च्याम्पियन्स लिग बन्यो। गएको मार्च अघिदेखि नै आउने सिजनको यकिन नभएरै मेस्सीले नयाँ सम्झौता थप गर्न मानेका थिएनन्। तर ब्यवस्थापन उनको महँगो रकमका कारण नै कतै नजाने विश्वासमा चुपचाप बसिरह्यो। होइन भने मेस्सीले आफूले छाड्न चाहेको विषय बर्टामेउलाई नै पटक पटक जानकारी गराउँदै आइरहेका थिए।
मेस्सीले पछिल्लो पटक २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। तर बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर नदिन क्लबले प्रयास गरिरहेको छ।
मेस्सीले भने आफ्नो सम्झौतामा उल्लेख भएको- ‘हरेक सिजनको अन्त्यमा आफूले चाहेमा क्लब छाड्न सक्ने’ भन्ने बुँदालाई अघि सारिरहेका छन्।
क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको रटान लगाइरहेको छ। जसका कारण विषय अगाडि बढ्न सकेको छैन। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीका कानूनी सल्लाहकारको तर्क छ। जसले यदि मेस्सीले क्लब छाडेर गएमा बार्सिलोना ब्यवस्थापन अदालती प्रक्रियामा जाने देखिन्छ। जहाँ विश्व फुटबलको सबैभन्दा ठूलो ट्रान्सफर विवादमा अझ लम्बिने छ।
पहिले जस्तो हल्लामा मात्र यो कुरा टुंगिदैन। अहिलेसम्म घटनाको विकास जसरी भएको छ, यसमा भयङ्कर उलटपुलट नभएमा आउँदो सिजन मेस्सी बार्सिलोनामा हुने छैनन्।
मेस्सीको सम्झौता राम्ररी अध्ययन गरेका उनका कानूनी सल्लाहकारका अनुसार मेस्सीले आफ्नो सम्झौताअनुसार नै अहिले सित्तैमा क्लब छाडेर जान सक्नेछन्। तर उनी त्यसो गरिहाल्ने पक्षमा छैनन्। त्यसरी हिँड्दा समर्थकको मनमा नराम्रो पर्ने उनको सोच छ। यसैले सहमतिको प्रयासमा नै लागिरहेका छन्।
गएको हप्ता बुरोफ्याक्समार्फत मेस्सीले गराएको जानकारी प्रमाणका लागि पनि थियो। यदि विवाद अदालत पुगेका मेस्सीका लागि बुरोफ्याक्स एक बलियो प्रमाण हुनेछ। जसको जवाफमा क्लबले छाडेर नजाने आग्रहबाहेक केही गरेन।
मेस्सीले बार्सिलोना छाडेर इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने इच्छा देखाइरहेका छन्। मेस्सीलाई तीन वर्षको सम्झौतामा लैजान सिटीले प्रयास गरिरहेको भन्ने खबर अहिले व्यापक छ। मेस्सीसँगको सम्झौतामा सिटीका मुख्य कार्यकारी अधिकृत फेरान सोरियानोले काम गरिरहेको बताइन्छ। मेस्सीसँग तीन वर्षका लागि सम्झौता गर्ने तयारी गरेको सिटीले त्यसपछि उनलाई सिटीकै क्लब न्यू योर्क सिटीमा जान सक्ने छुट पनि सम्झौतामा उल्लेख हुनेछ। यसका साथै ‘सिटी फुटबल ग्रुप’ को एम्बेस्डर हुने अवसरसमेत दिइने खबरहरु आएका छन्।
गएको हप्ता अफिसियल रुपमा बार्सिलोना ब्यवस्थापनसँग आफूले क्लब छाड्न चाहेको विषय मेस्सीले राखेपछि युरोपका ठूला क्लबहरु उनलाई भित्र्याउन लागिपरेका थिए। जसमा सबैभन्दा अघि म्यानचेस्टर सिटी देखिएको हो। सिटीका प्रशिक्षक पेप गार्डिओलाले मेस्सीसँग सिटीमा आएपछिका अवस्था र योजनाबारे कुराकानी गरिसकेको बताइएको छ।

मेस्सीले सित्तैमा छाडेर जाँदा लाग्न सक्ने घाँटालाई मध्यनजर गर्दै उनको बिक्रीमा नै लाग्न पनि बार्सिलोना ब्यवस्थापनमा छलफल भने भएको छ। नेमारलाई पिएसजीमा पठाउँदाको भन्दा बढी रकम हुनुपर्ने तर्क उठिरहेको छ। नेमार २०१७ मा २ सय २२ मिलियन युरोमा पिएसजी गएका थिए।
अहिले बार्सिलोना अध्यक्ष बर्टामेउले यदि मेस्सीले बार्सिलोनामा नै रहने पक्का गरेमा आफू राजीनामा दिनसमेत तयार रहेको बताएका छन्। तर उनको यो अभिव्यक्तिको आधिकारिक पुष्टि भएको छैन। मेस्सीले कुनै पनि हालतमा क्लब छाड्ने देखिएपछि उनले आफ्नो छबि सुधार गर्न त्यस्तो बताएको बताइन्छ।
यसैले हल्ला र अनुमानका व्यापारहरु बढ्ने मौका भइरहेको छ। यो सबैमा बुझ्नुपर्ने एउटा विषय- अंग्रेजीमा लेखिएको देख्दैमा हरेक खबरलाई विश्वास नगरौँ। एकै विषय विश्वासिला मानिएका धेरैले लेखेमा शंका गरेर मात्र पत्याउँ। किनभने मेस्सीका कुरा स्वयं मेस्सी नबोल्दासम्म यकिन हुँदैन।
यकिन गर्न सकिने विषय- पहिले जस्तो हल्लामा मात्र यो कुरा टुंगिदैन। अहिलेसम्म घटनाको विकास जसरी भएको छ, यसमा भयङ्कर उलटपुलट नभएमा आउँदो सिजन मेस्सी बार्सिलोनामा हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।