एजेन्सी- लिवियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग (युएनएसएमआईएल) ले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ।
संयुक्त राष्ट्र संघीय निकायले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिवियामा घटनाक्रमले नाटकीय मोड लिन थालेको देखिएको छ। यसले लिवियामा द्वन्द्वरत पक्षहरू पूर्ण र समावेशी राजनीतिक प्रक्रियामा फर्किनुपर्ने आवश्यकतालाई जोड दिएको छ। मर्यादा र शान्तिका लागि लिबियाबासीहरूको आकांक्षालाई उनीहरूको प्रतिनिधित्व गर्ने सरकारले पूरा गर्न जरुरी छ।’
राष्ट्रसंघीय उक्त निकायले लिवियाली नागरिकलाई शान्त रहन, कानुनी शासनको पालना गर्न र अधिकार संरक्षणको लागि शान्तिपूर्वक आफ्नो विचार व्यक्त गर्न आग्रह गरेको छ।
राष्ट्रसंघीय नियोगले लिवियाभरि मनोमानीरूपमा गिरफ्तार, नजरबन्द, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको र शान्तिमय सभा र विरोधको अधिकारसहित मानव अधिकार उल्लङ्घनको रिपोर्टमा वृद्धि भएको दावी गरेको छ।
संयुक्त राष्ट्र संघले प्रदर्शनकारीविरूद्ध राजधानी त्रिपोलीमा अत्यधिक बलको प्रयोगको साथसाथै धेरै नागरिकलाई मनोमानीरूपमा गिरफ्तार गरेकोमा चिन्ता व्यक्त गरेको छ।
मिसनले त्रिपोलीदेखि ४५० किलोमिटर पूर्वमा अवस्थित सिर्ते सहरमा चलिरहेको मानवअधिकार उल्लङ्घन र दुर्व्यवहारका रिपोर्टप्रति पनि चिन्ता व्यक्त गरेको छ। सिर्तेमा नागरिकको अपहरणपछि हत्या र धेरैलाई मनोमानी गिरफ्तार, र निजी सम्पत्तीमा अवैध रुपमा हस्तक्षेप भएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ।
सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतन भएदेखि नै लिवियामा हिंसा र राजनीतिक अस्थिरता बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।