'कलंकीमा ८ बजेतिर गाडी आइपुग्छ रे है दाइ! एकजना त राख्न मिल्छ भन्दैछ साथीले!'
विमलले भोर्लेटार (लम्जुङ) फर्किने एम्बुलेन्सको बारेमा फोनबाट दिएको जानकारी थियो यो। मलाई विशेष कामले घर (तनहूँ) जानैपर्ने भएको थियो। लकडाउनले गर्दा जान सकस परिरहेको।
करिब २० मिनेट हिँडेर ७:४५ मै कलंकी पुगेँ। चहलपहलले भरिभराउ हुने कलंकी निन्याउरो देखिन्थ्यो। पूरै सुनसान। दायाँबायाका सटरहरू सबै बन्द। सडकमा बसेर व्यापार गर्नेको हालत के भा होला? भारी बोकेर दैनिकी चलाउने के गर्दै होलान्? मान्छे रोगले भन्दा भोकले त मर्ने हैनन्? यस्तै के के सोच्दै थिएँ, त्यहिबेला नयाँ नम्बरबाट फोन आयो।
'दाई म विमलको साथी! कलंकी आइपुग्न लागेम! काँ'नेर बस्नुभा'छ?'
'बाबा पेट्रोल पम्प अगाडि,' जवाफ फर्काएँ।
एम्बुलेन्स पेट्रोलपम्प अगाडि आएर रोकियो। म एम्बुलेन्स भएपट्टि लागेँ। पछाडिको ढोका खुल्यो।
'दाइ छिटो चढिहालौँ! फेरि पुलिसले झ्याउ गर्छ,' मंगोल वर्णको देखिने भाइले मेरो ब्याग तान्यो र ढोका लगाइहाल्यो।
अगाडि चालकको साइडमा ३०/३५ वर्षजस्तो देखिने मंगोल वर्णको पुरुष। पछाडि करिब ६५/६६ हाराहारीको बिरामी बा र छेउमा मलिन देखिएकी ५०/५५ उमेरकी आमा। आमाको खुट्टापट्टि झोलाहरू, एक्स-रे फ्लिमको ब्याग आदि। अनि मेरो छेउमा अघि ढोका खोल्ने भाइ।
नागढुंगामा चेकिङ चल्दै रहेछ। अगाडि बस्नेले अस्पतालको कागजातहरू देखाए। पुलिसले अगाडि बढ्न संकेत गर्यो।
'अब त अगाडि चेकिङ हुन्न होला,' चालकले खुसी व्यक्त गरे।
बैसाखको महिना। खुला आकास, कताकति सेता बादलका टुक्रा। बाहिर स्वच्छ वातावरण। विश्व नै लकडाउनमा रहँदा दैनिक जनजीवनलाई प्रभाव पारेपनि वातावरण भने सफा हुँदै गएको समाचारहरू आइरहेका थिए। खुला बाटोमा गाडी एक रफ्तारले अगाडि बढ्दै थियो।
'कहिले ल्याउनुभा' नि काठमाडौँ?,' मैले आमातिर हेर्दै कुरा सुरु गर्न खोजेँ।
'८ गते ल्या'को केरे...अनि ११ गते'ट त बन्द भैहाल्यो। त्यो कोर्ना हो कि के जातिले गर्दा बन्द न'भा भए त २/४ दिन अघि नै फर्किन्थेम् होला। आज २ गते भने'सी तीन साता भन्दा बढी भैसकेछ,' आमाले उदास मुद्रामा भनिन्।
मैले 'एऽऽ!' मात्र भनेर मुन्टो हल्लाएँ।
मेरो छेउमा बस्ने भाइ र अगाडि सिटमा बस्ने पुरुष चाहिँ बा-आमाका आफन्त पर्ने रहेछन्। यी भाइले नै बा-आमालाई गाउँबाट काठमाडौँ लिएर आएका। ती पुरुष यहीँ काठमाडौँको निजी संस्थामा काम गर्ने रहेछन्। लकडाउन हुने सूचना आएपछि परिवारलाई गाउँ पठाइसकेका।
थानकोटबाट केही बेर ओरालो लागेपछि मैले सोधेँ, 'बा! गाडीको स्पिड त ठिकै छ नि! कि अलि कम गर्ने हो?'
'ठिकै छ,' बाले मतिर फर्किएर उत्तर दिए।
'बाबुको जागिर नै यतै?'
बाले मेरो अनुहारमा एकोहोरो हेरेर जिज्ञासा राखे।
'हजुर हो!' जवाफ दिएँ।
'सरकारी कि प्राइभेट?,' उत्सुक हुदै बा'ले प्रतिप्रश्न गरे।
'सरकारी,' उत्तर दिएँ।
'राम्रो र'छ। सरकारी जागिर भ'सी ढुक्क! बुढेसकालाँ पेन्सन चैँ हुनपर्नी नै र'छ,' बाले मबाट नजर अन्तै घुमाएर गम्भीर हुँदै भने।
म केही बोलिनँ। मबाट नजर हटाएपनि मेरो नजर भने अप्टिक नर्भको बाटो हुँदै बाको आँखाभरि चहार्न पुगेँ। बाका आँखामा फैलिएका हजारौँ रातानीला रेटिनल ब्लड भेसलहरूले 'बुढेसकालमा पेन्सन हुनपर्नी र'छ' भन्ने हजारौँ वृद्ध बा-आमाहरूको भावनालाई प्रकट गरिरहेको थियो। वास्तवमा बाको बोलीको त्यो गाम्भीर्यता बुढेसकालको जीवन बिताइरहेका धेरै बा-आमाहरूको प्रतिनिधि आवाज पनि त थियो।
केहीबेर गाडीभित्र शून्यता छायो। गल्छी काटेर त्रिशुलीको किनार-किनारै सुनसान सडकमा गाडी एकनास गुडिरह्यो। व्यस्त भैरहने सडकमा फाट्टफुट्ट गाडी चलेका दृश्य देख्दा रोचक लाग्थ्यो। गजुरी कटेपछि एक छेउमा पिसाब गर्न भनेर चालकले गाडी रोके।
पिसाब गरेर आएपछि अगाडि सिटमा बस्ने पुरुषले ढोका ढ्याम्म लगाए अनि पछाडि फर्केर बोले, 'गर्मी त ह्वात्तै बढेछ नि!'
एकछिन अडिएर फेरी बोले, 'साँच्चि!....रामसिङ् दुबई कि कतार रे आमा?'
'रामसिंङ् कतार हो केरे! यो चैतमा २ वर्ष भो गा'को। कान्छो मानसिङ् चै मलेसिया। आउने भदौमा वर्षदिन हुन्छ,' आमाले विस्तारमा भनिन्।
'पैसो पठाइरा'होलान् नि?,' चालकले मिठो आवाजमा प्रश्न तेर्स्याए।
'उसकै बुढीहरूलाई पठा'होला नि! पठाउँदैनन् हाम्लाई! बज्जेहरू,' थोरै अमिलो अनुहार बनाएर आमाले भनिन्।
करिब ३५/४० वर्षका जस्ता देखिने चालक दाई हाँस्दै बोले, 'यस्तै हो हजुर! मेरा'नि दुइ'टा छोरा छन्। १४ वर्ष त साउदी नै बसेँ। अलिअलि कमा'को भने'नी, जे भने'नी यै एम्बुलेन्स छ। यिनकै लागि त दिनरात नभनी चला'छु।'
उनले अगाडि थपे, 'आश छैन! भोलि यिनले कमा'र दे'लान् भन्नी? समय पहिला जस्तो छैन हजुर! बुढेसकालमा आफ्नो लागि केही न केही चैँ आफैले बचा'र राख्नपर्नी बेला आयो।'
चालक र आमाको संवादले धेरै कुराहरूको संकेत गरेको थियो। वैदेशिक रोजगारका कारण आजभोलि गाउँघरमा फेरिएको परिवेश, प्रवृत्ति, युवाविहीन गाउँघर, वृद्धवृद्धाको बढ्दो असुरक्षा, समयसँगै परिवर्तन हुँदै गएको सोँच आदि आदि।
'खासमा यो प्राइभेट 'जब' गर्ने, आफैँ काम गर्नेहरूलाई पनि पेन्सन हुने व्यवस्था हुनुपर्नी के,' मेरो छेउमा बस्ने भाइले रमाइलो तरिकाले बोल्यो।
म केही बोल्न खोज्दै थिएँ अगाडि सिटमा बस्ने पुरुष बोले, 'छ त! अहिले नयाँ सिस्टम लागू भा'छ। सरकारले सामाजिक सुरक्षा कोष भन्नी खोल्या'छ। बेसिक स्यालरीको ३१ पर्सेन्ट काटेर राख्छ त्यसमा।'
'हो र!' चालक र छेउमा बस्ने भाइको सँगै आवाज आयो।
'तर ३१ पर्सेन्ट त अलि बढी भएन र?' चालकले जिज्ञासु बनेर अगाडि बस्नेपट्टि फर्किँदै सोधे।
'हैन गुरु! ३१ भने'नी, त्यसमा हामी श्रमिकको चैँ ११ मात्रै काटिन्छ। अनि काम गर्ने कम्पनीले त्यसमा २० थप्दिएर ३१ हुनी हो। ३१ मा २८.३३ चैँ बचत गर्ने र'छ.....६० वर्षको उमेरमा पुगे'सी पेन्सन दिने गरी, अनि बाँकी चैँ बीमा जस्तो के! तपाईं बिरामी हुनुभो......दुर्घटना हुनुभो भने उपचार खर्चहरू दिने र'छ। अरु सुविधा नि के के छ छन् त?' अगाडि सिटमा बस्नेले आफूले बुझेको कुरालाई सकेजति बुझाउने कोसिस गरे।
'राम्रै र'छ त भाइ! मन पर्यो है मलाई चैँ,' चालकले आफ्नो विचार व्यक्त गरे।
'तर यो जम्मा भा'को पैसो ६० वर्ष पुगेपछि मात्र पाइने भन्ने सिस्टम छ नि! त्यो चैँ अलि मन पर्या छैन धेरैलाई। मलाई नै हेर्नु न! अब लगभग ५४ वर्षको हुँदा जागिरबाट रिटायर हुन्छु। ६ वर्षसम्म के गर्ने? तपाईं नै भन्नुस न! त्यो पैसा दिए त केही व्यवसाय गर्न हुन्थ्यो वा अरु केही न केही गर्न सकिन्थ्यो नि! कसैलाई जम्मा भाको पैसोले घर बनाउँछु भन्नी होला! हुन्छ नि आ-आफ्नो सोच्! आफ्नै कमाई नि बुढेसकालमा मात्र पाइने,' अगाडि बस्ने पुरुषले आफ्ना असन्तुष्टिहरू पोखे।
मैले त्यतिन्जेलसम्म आफू सामाजिक सुरक्षा कोषको कर्मचारी भएको कुरा बताएको थिइनँ। उनीहरूको कुरा सुनेर नै रोचक मानिरहेको थिएँ। कहिलेकाहीँ सुनेर नै धेरै कुरा सिक्न सकिने रहेछ। म नबोलेरै उनीहरूले के नबुझेका रहेछन् भन्ने धेरै कुरा बुझ्ने मौका पाइरहेको थिएँ।
तर अब केही बोल्न पर्यो भनेर लाग्दै थिएँ, बाले एकपटक ख्वाक्क खोके अनि अगाडि बोल्न थाले, 'यी! हामी न उबेलाँ सरकारी जागिर खान सकियो। न बुढेसकालको लागि पैसै बचा'र राख्न सकियो। दुई-दुई'टा छोराहरू भ'सी बुढेसकालमा केको पिर भन्ने लाग्थ्यो। बल भैन्जेल काम गरियो। अलि-अलि कमाई नि भैरह्यो, मतलबै भएन।'
बाले केही निराश हुँदै अझ अगाडि थपे, 'अहिले बल नि सकियो, आम्दानीको बाटो'नि ठ्याप्पै। फेरि बुढेसकालको जीवन त छोटो हुन्छ, यसै बितिहाल्छ नि भने जस्तो लाग्थ्यो। सोच्ने त्यसरी होइन र'छ बाबु हो! अहिले आ'र था'भो। बुढेसकालको जीवन नि त लामै हुन्छ नि! अरुको भराँ परेर बुढेसकाल गुजार्नुमा मजा रै'न्छ। अहिले पेन्सन भा'को भए कमसेकम केही राहत त हुन्थ्यो। अहिले आफ्नो आम्दानी नि नहुँदा त खान मन लाग्या, गर्न मन लाग्या कति कुरा नि गर्नुअघि दशपटक सोच्नुपर्ने। मन फुका'रै गर्न नसक्नी।'
आमाका आँखा रसिला देखिए। सबैको ध्यान बाको कुरामा देखिन्थ्यो।
बाले थप्दै गए, 'छोराछोरी सँग पैसा लेउ न! भनेर माग्दा नि उनीहरूलाई भार पर्लाकी भनेर सोच्नुपर्ने। एकदमै धक लाग्ने र'छ। झन् बुढेसकालमा अन्नपानीको शरीर दुख-बिमार भैरन्छ। छोराहरूको नि जहान, बाल-बच्चा गर्दा खर्च ठूलै हुन्छ। केही माग्दा नि उनीहरूलाई गाह्रो होला भन्ने लाग्दो र'छ। अहिले त सरकारले दिने वृद्धभत्ता हाताँ पर्दा नि त्यो दिन राम्रो निद्रा लाग्छ।'
चालकले गाडीको स्पीड केही कम गरे अनि दाहिने हातको औला छातीमा छुवाएर निधारमा पुर्याए। कुरिनटार (मनकामना केवलकार) पुगिएछ।
बा र आमाले झ्यालबाट मनकामनाको डाँडातिर हेर्दै दुई हात जोडी आँखा बन्द गरेर मनैदेखि भने, 'रक्षा गरऽऽ भगवान्!'
भगवानसँग बुढेसकालको सुरक्षा माग गर्या होलान् बा-आमाले। मनमनै सोचेँ।
थोरै हाँस्दै अगाडि सिटमा बस्ने बोले, 'हुनत....बाको कुरा सुन्दा कोषले गरेको सिस्टम त ठिकै हो कि क्या हो? बुढेसकालमा पेन्सन चाहिँ चाहिन्छ है! ६० वर्ष नपुग्दै हाम्रो हाताँ पैसो परेपछि जेजे गर्छु भनेपनि राम्रै गरिन्छ भन्ने ग्यारेन्टी त कहाँ हुन्छ र?'
'त्यही त! तपाईंले भनेजस्तै ६० वर्ष नपुग्दै पैसो पाउने सिस्टम हुँदा केहीले राम्रो गर्लान् तर सबैले सदुपयोग नै गर्छन् भन्ने चैँ हुदैँन। कोही व्यापार-व्यवसाय गर्लान् अनि डुब्लान रे! सप्पै सफल त हुँदैनन् नि! कोही घरसर बनाउलान्! अनि बुढेसकालमा हालत चैँ अघि बाले भन्या जस्तै! सबैका लागि केही न केही सोचेर नै यो ६० वर्ष पुगे'सी पेन्सन पाउने सिस्टम बना'जस्तो लाग्यो सरकारले!' चालकले आफ्नो अनुमान प्रकट गरे।
'कोही कोही त जम्मा भा'को पैसा बैंकमा राख्ने अनि तेसैको ब्याजले चल्छु भन्ने नि त होलान् नि!' म छेउको भाइले मुख खोल्यो।
'सबैले राम्रै तरिकाले म्यानेज गर्छन् भन्ने नि छैन नि! फेरि कसैलाई पैसा निकाल्न दिने, कसैलाई नदिने भनेपछि सिस्टम मिलाउन नि गाह्रो होला! कोषमै भैराख्दा नि ६० वर्षको उमेरसम्म लगानीबाट आउने ब्याज, बोनस नि जोडेर हिसाब गर्ने भए'सी त खासै फरक त परेन होला नि! हैन र?' चालकले सुनसान मुग्लिन बजारलाई दायाँ-बायाँ हेर्दै आफ्नो भनाई राखे।
मुग्लिन पुल कटेर मोडिन लाग्दा उताबाट आएको एम्बुलेन्ससँग जम्काभेट भयो। चालकले चिनेकै परेछ क्यारे! उताको चालकसँग छोटो कुरा गरेर गाडी अगाडि बढाए।
अनि उनले भने, 'एक्सिडेन्ट केस र'छ, हात त लगभग छिनिया'छ रे! भरतपुर लैजान लाग्या र'छ। लकडाउनमा बन्द भा'को नि धेरै भो, मेसिन बेला-बेलाँ नचलाउँदा नि जाम होला भनेर चलाउन ला'रछ रे! स्लेट फ्याक्ट्रीमा र'छ।'
'कठै! बरा! दसा नै लागेछ नि! हेरऽऽ!.. अब त्यो हातै नभ'सी... जीवन गुजारा कसरी गर्ने होला एक हात लिएर? जहान परिवार कति होलान्? च्व..च्व...!'- आमाले दु:ख मान्दै सुनाइन्।
'बीमा गर्या छ कि छैन कुन्नि! सुरक्षा कोषमा योगदान गर्या र'छ भने नि उपचारको राम्रै सुविधा छ क्यारे!' अगाडि बस्ने पुरुषले भने।
'ठिक भन्नुभो! सुविधा पाइन्छ, यदि कोषको योगदानकर्ता हो भने। म अघिदेखि नै तपाईंहरूको कुरा सुनिर'को छु। म सामाजिक सुरक्षा कोषकै कर्मचारी हो,' मैले भोल्युम बढाउदै बोलेँ।
'ओहो! हो र सर! कस्तो संयोग परेछ त! हामी कोषकै सुविधाका बारेमा त्यत्रो कुरा'नि गरेम्!' अगाडि बस्ने पुरुष मलाई हेर्दै मुसुमुसु हाँस्दै बोले।
'सुन्नुस है! रोजगारीजन्य दुर्घटना भए उपचार गर्दा लाग्ने सम्पूर्ण खर्चहरू कोषले नै उपलब्ध गराउँछ। त्यो बाहेक बाहिर कतै दुर्घटना भा'को हो भने चाहिँ सात लाखसम्म उपचार खर्च पाइन्छ। दुर्घटना भएर कुनै अंगभंग नै भ'को र'छ भने महिनावारी रुपमा जीवनभर नै अशक्तता पेन्सन सुविधा पाइन्छ,' मैले बताएँ।
चालकले सोधे -'कथंकदाचित् ज्यान गयो भने?'
'श्रमिकको कुनै कारणले मृत्यु भएका खण्डमा उसको हकवालालाई आजीवन आश्रित पेन्सन कोषले उपलब्ध गराउँछ। त्यस्तो बेलामा बालबच्चालाई पनि सुविधा छ। १८ वर्षको उमेरसम्म शैक्षिक भत्ताको पनि कोषले व्यवस्था गर्या छ,' मैले जानकारी दिएँ।
'साँच्ची! यो लकडाउनमा कम्पनीहरू बन्द भ'कोले कोषमा हाल्नपर्ने चैतको ३१ पर्सेन्ट रकम सरकारले नै हाल्दिने भो रे! हो र सर?' अगाडि बस्ने पुरुषले उत्सुक हुँदै सोधे।
'हजुर हो!' मैले भने।
'पछि काम सुरू हुन थालेपछि यो रकम हामीले नै तिर्नपर्नी हुन्छ कि? धेरैले यस्तै भन्दै थिए!' उनको भनाइ थियो।
'पर्दैन नि! कोष त यस्तै-यस्तै अफ्ठेरो परिस्थिति आईपर्दा श्रमिकको हितमै काम गर्ने संस्था हो नि!' फेरि मैले उत्तर दिएँ।
'त्यसो हो भने त ठिकै छ! यो कोष नयाँनयाँ संस्था भ'र नि होला, नबुझेर मान्छेहरूमा धेरै शंका-उपशंका पनि भा'छ के सर!' उनले आवाजलाई केही सानो गर्दै बताए।
ती पुरुषले सामाजिक सुरक्षा कोषको योजना र सुविधाहरूबारे प्रश्न गर्दै गए। मैले उत्तर दिदै गएँ। उनले कति कुराहरू बुझेका भएपनि दोहोरो कर, स्वास्थ्य उपचार सुविधा, हस्पिटलमा सुविधा दाबी गर्ने विषय लगायत चाहिँ गलत ढंगले बुझेका रहेछन्। मैले उनलाई प्रस्ट्याउँदै गएँ। उनी विस्तारै सकारात्मक पनि हुँदै गए। बा र चालकले पनि निकै चाख दिएर धेरै कुराहरू सोधे।
गाडी घाँसीकुवा कट्यो। घडीमा १२ बज्नै लागेको रहेछ।
'भनेपछि काम गर्न सक्या बेलाँ आफैँले योगदान गर्ने, नसक्या बेलाँ त्यै योगदानबाट आफूले सहयोग लिने सिस्टम र'छ!' चालकले केही बुझेजस्तो गरेर भने।
'हो! हजुरले ठिकै भन्नुभो' जवाफ दिएँ।
'अनि हामीजस्तै आफ्नै पेसा-व्यवसाय गर्नेहरूको लागि केही छैन सर?' चालकले प्रश्न गरे।
'व्यवस्था हुँदैछ, हजुरजस्तै स्वरोजगारमा रहेर पेसा-व्यवसाय गरेकाहरू, किसान वर्ग आदिका लागि पनि कोषले नयाँ योजना बनाउँदैछ। वैदेशिक रोजगारीमा रहेकालाई पनि सुरक्षाको दायरामा ल्याउन अध्ययन हुँदैछ,' मैले बताएँ।
बाले बोटलबाट दुईघुट्की पानी पिए अनि अनुहार उज्यालो पारेर मतिर फर्किँदै भने, 'भनेपछि अब सप्पै नेपालीहरू पेन्सनको हकदार हुँदै र'छन है बाबु!'
एकछिन हामी सबै हाँस्यौ। गफैगफमा म ओर्लनुपर्ने ठाउँ पनि आइपुगेछ। गाउँघरलाई बसन्तले ढपक्कै ढाकेको रहेछ। झर्नुअघि उनीहरूले मेरो फोन नम्बर मागेर राखे। मैले मेरो र सुरक्षा कोषको नम्बर (०१-४२५६१४४ र ४२५६३१५) दिएँ। अनि हात हल्लाएर उनीहरूसँग बिदा भएँ।
त्यसको करिब दुई महिनापछि अगाडि बस्ने पुरुष (पदम गुरुङ)ले एकदिन मलाई खुसी हुँदै फोन गरे, 'सर! सरकारले फेरि बैसाख-जेठ-असार तीन मैनाकै ३१ पर्सेन्ट पैसा पनि कोषमा जम्मा गर्दिने भएछ नि है!'
स्केच : सुदीप दत्त
(न्यौपाने सामाजिक सुराक्षा कोषका सहायक निर्देशक हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।