काठमाडौं- वायुसेवा प्रदायक कम्पनीले नयाँ एक वायुयान थप गर्दा आयकरमा छुट दिने गरी नीति लिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको हवाई नीतिको २०७७ को मस्यौदामा नयाँ वायुयान थप गर्दा आयकरमा छुट दिने व्यवस्था गर्न लागिएको हो।
मन्त्रालयले एक नयाँ वायुयान थप गर्दा २ आर्थिक वर्षसम्मको आयकरमा ५० प्रतिशत छुट दिने व्यवस्था हवाई नीतिको मस्यौदामा समावेश छ। यसैगरी नीतिमा २ वा २ भन्दा बढी वायुयान थप गर्दा ३ वर्षसम्मको आयकरमा ५० प्रतिशत छुट दिने उल्लेख छ।
आवासीय भिसा
मस्यौदामा हवाइ क्षेत्रमा लगानी गर्ने कम्पनी वा व्यक्ति वा निजको प्रतिनिधि/कर्मचारी र परिवारका सदस्यलाई नेपालमा उक्त विदेशी लगानी रहेसम्म आवासीय भिसा दिने नीति लिइनेसमेत सो मस्यौदामा उल्लेख छ।
२ अर्बसम्मको लागानी गर्नेलाई पाँच वर्षसम्मको आयकर छुट
मस्यौदामा २ अर्बसम्म नागरिक उड्डयन क्षेत्रमा लगानी गर्ने व्यक्ति वा संस्थालाई ५ वर्षसम्मको आयकरमा पूर्ण छुट दिने सक्ने व्यवस्था मिलाउने नीति लिइने उल्लेख छ। रोजगारमूलक नागरिक उड्डयन क्षेत्रमा कार्यारम्भ गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने व्यक्ति वा संस्थालाई ५ वर्षसम्मको आयकरमा पूर्ण छुट दिने व्यवस्था नीतिमा प्रस्ताव गरिएको छ।
यसैगरी खरिद वा लिज पर्चेज गरी ५ वर्षभन्दा कम उमेर भएका वायुयानको आयात गर्ने संस्थालाई प्रत्येक वायुयान आयात गर्दा भन्सार तथा लिज करमा सहुलियत प्रदान गर्ने नीतिमा उल्लेख छ। साथै यस्ता वायुयानको निरन्तर संचालनका क्रममा पहिलो ३ वर्षसम्म आयकरमा सहुलियत दिने विषय पनि नीतिमा प्रस्ताव गरिएको छ।
फ्लाइङ स्कुल स्थापना भएको ५ वर्षसम्म आयकर छुट
हवाई क्षेत्रको जनशक्ति उत्पादनमा जोड दिँदै फ्लाइङ स्कुल स्थापना गर्ने व्यक्ति वा संस्थालाई पनि आयकरमा छुट दिने नीति प्रस्ताव गरेको छ। फ्लाइङ स्कुल सञ्चालनमा आएको पहिलो ५ वर्षसम्मको आयकरमा छुट दिने नीति प्रस्ताव गरिएको छ।
यसैगरी नीतिमा इन्जिन ओभरहल समेत गर्ने गरी स्थापना भएका वायुयान मर्मत संभार संस्थाका लागि १० वर्षसम्म आवश्यक जग्गा निःशुल्क उपलब्ध गराइने नीतिको मस्यौदामा समावेश छ। साथै सञ्चालनमा आएको मिति पहिलो ५ वर्षसम्मको आयकरमा शतप्रतिशत छुट र पछिल्लो ५ वर्ष ५० प्रतिशत छुट दिने विषयसमेत नीतिमा समावेश भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।