काठमाडौं- विश्व फुटबलमा धेरै खेलाडी आए-गए। तीमध्ये केही यस्ता छन् जसको अनुहार सम्झनाबाट ओझेल पर्दैन। खेल उपलब्धीसँगै बढेको सम्मानले मनमा सधैँ घर बनाइदिन्छ। उही समयमा फर्केर उसैगरी हेरौँ झैँ लाग्छ। तिनको शैली नै खेलको सुन्दर रचना बन्छ। जसले छाडेर जान्छन् सयौँ कीर्तिहरु।
यस्तै कीर्तिमानी खेलाडीमा विश्व फुटबलले तीन रोनाल्डो देख्यो। जसमध्ये पोर्चुगलका क्रिष्टियानो रोनाल्डो अझै मैदानमा मेहनत देखाउँदै छन्। अर्का ब्राजिलका रोनाल्डो नाजारियो। जो आफ्नो समयका उत्कृष्ट खेलाडीमा दरिएरै मैदानबाट बिदा भए। यी दुईबाहेक पनि ब्राजिलले नै अर्का एक रोनाल्डोलाई विश्वस्तरमा देखायो- जसलाई हामी रोनाल्डिन्होका नामले चिन्छौँ।
सर्वाधिक महान खेलाडीको मापन खेल कौशलका साथै त्यसबाट मिल्ने आनन्द र हर्षले हुन्छ भने पक्कै रोनाल्डिन्हो महान हुन्। प्रतिस्पर्धात्मक खेल चलिरहँदा नै मैदानमा देख्न पाइने इलास्टिको फ्लिप, रेबोना किक, नो-लुक पास जस्ता फुटबल कलाहरु र पूरै दाँत देखाएर हाँसिरहेको अनुहार। कसले बिर्सेको होला र? जुन समय रोनाल्डिन्हो मैदानका अथक योद्धा थिए। खेल कला बुझेका पारखीहरु उनको तारिफमा खुब शब्द जोड्छन्। तै पनि अपुग-अपुग जस्तो लाग्छ।
रोनाल्डिन्हो सन् २००० को दशकमा फुटबल मन पराउने सबैको प्रिय थिए। उनको गोलमा विपक्षीसमेत उठेर तालि बजाइरहेका देखिन्थे। जसले ब्राजिलमार्फत विश्व फुटबलमा सबैको मन जितेरै विजय प्राप्त गरे। यस्तो लाग्छ, उनको खेल प्रतिस्पर्धा होइन प्रस्तुति हो।
त्यसरी खेल मात्र होइन सबैको मन जितिरहेका खेलाडी रोनाल्डिन्हो पछिल्ला वर्ष भने हराइरहेका छन्। आफैसँग हारे जसरी। नक्कली पासपोर्टका कारण पाराग्वेको बन्दी जीवनले पछिल्लो पाँच महिना त उनका लागि हारको सबैभन्दा नमीठो अनुभव बन्यो। उनको ४०औँ जन्मदिन बन्दीरुपमा नै रह्यो। रोनाल्डिन्होले देखेका उचाइ र गहिराइका यी भोगाइहरु उपन्यासमा पग्रेल्न गाह्रा उपकथा जस्ता लाग्छन्।
रोनाल्डिन्होकोे कथा ब्राजिलको पोर्टो एलेग्रेबाट सन् १९८० मार्च २१ मा सुरु भयो। रोनाल्डिन्होका बुबा जोआ मोरेरा व्यावसायिक फुटबल खेलाडी थिए, जो पानीजहाज मर्मत गर्ने ठाउँमा वेल्डरको काम पनि गर्थे। उनकी आमा मिग्युलिना पहिले कस्मेटिक पसलमा काम गर्थिन् भने पछि नर्स थिइन्। रोनाल्डिन्होका दाइ रोबर्टो पनि फुटबल खेलाडी नै थिए। यसैले उनी सानो छँदादेखि नै फुटबलकै वरपर भए।
रोनाल्डिन्हो हुर्किरहेको पहिलो दशक ब्राजिलमा भ्रष्टाचार, अपराध र सामाजिक विभाजनका डरलाग्दा घटनाहरु घटिरहेका थिए। सैनिक शासनमा रहेका राष्ट्रपति जोआओ फिगयेरेदो नयाँ गणतन्त्रमा प्रवेश गर्न संघर्ष गरिरहेका मानिसहरुलाई सम्हाल्न लागिपरेका थिए।
त्यस्तोमा रोनाल्डिन्हो आठ वर्षको छँदा उनको बुबाको हृदयघातका कारण निधन भएपछि आमा एक्लैलाई परिवारको जिम्मेवारी सहज थिएन। सानै उमेरमा बुबा गुमाए पनि बुबाले भनेको एउटा कुरा उनले कहिल्यै बिर्सिएनन्। ‘फुटबल खेल्दा सकेसम्म सहज तरिकाले खेल।’ त्यसैले होला रोनाल्डिन्होले हरेक पटक बल छुँदा देखिने सहजतामा उनी त्यसैका लागि अभ्यस्त छन् जस्तो देखिन्थ्यो। मैदानको सहजता उनको व्यक्तित्वमा पनि झल्कन्छ।
रोनाल्डिन्हो सात वर्षको छँदादेखि युथ टिममा रहेर फुटबल खेल्न थालेका थिए। त्यसअघिसम्म रोनाल्डो नाम भएका उनी फुटबल टिममा पुगेपछि नै रोनाल्डिन्होको नामले बोलाइन थाले। आफ्नो नाम रोनाल्डिन्हो रहेकोबारे उनी भन्छन्- ‘मैले फुटबल खेल्न थाल्दा आफूभन्दा ठूलोहरुसँग मिसिएर खेल्थेँ, त्यसैले म सानो भएकाले उनीहरुले त्यो नाम दिए। पछि राष्ट्रिय टिममा पुगेपछि त अर्का पनि रोनाल्डो थिए, म सानो भएकाले मेरो नाम रोनाल्डिन्हो नै रह्यो।’
बालुवामा फुटबल खेलेर हुर्किरहेका रोनाल्डिन्हो १९८७ मा ब्राजिलियन क्लब ग्रेमियोको युथ टिममा पुगे। जहाँ एक खेल २३-० ले जित्दा एक्लै १३ गोल गरेका रोनाल्डिन्हो उतिबेलै ब्राजिलमा छाएका थिए। त्यहाँबाट नै १९९८ मा उनले सिनियर टिमबाट व्यावसायिक फुटबल सुरु गरे। दुई वर्ष पिएसजी, पाँच वर्ष बार्सिलोना, तीन वर्ष एसि मिलान हुँदै उनी २०११ मा ब्राजिलियन क्लब फ्लामेन्गोमा नै फर्किए।
त्यसपछि ब्राजिलकै एथ्लेटिको मिनिएरो हुँदै उनी मेक्सिकोको ग्यालोस ब्लान्कोसमा २०१४ मा नौ महिना रहे। जहाँबाट ब्राजिलकै फ्लुमिनेन्से फर्किएका उनले केही समयमा नै खेल छाडे। खेल्न छाडेको तीन वर्षपछि सन् २०१८ मा उनका दाइ रोबर्टोले रोनाल्डिन्होले सन्यास लिएको जानकारी दिए। जहाँ केही समय रोनाल्डिन्हो भारतीय फुटसलमा पनि देखिए।
सन् १९९९ मा ब्राजिल राष्ट्रिय टिममा छानिएका रोनाल्डिन्होले सुरुवातमा नै मेक्सिकोमा भएको कन्फिडिरेसन्स कपमा खेल्न पाए। जहाँ दोस्रो भएको ब्राजिलमा रोनाल्डिन्होले प्रतियोगिताकै उत्कृष्ट हुँदै गोल्डेन बलका साथै सर्वाधिक गोलकर्ताको गोल्डेन बुट पनि जितेका थिए।
ब्राजिललाई विश्वकप जिताउँदा सन् २००२ को क्षणपछि रोनाल्डिन्होको फुटबलमा सबैभन्दा राम्रो समय स्पेनिस क्लब बार्सिलोनामा रहँदाकोलाई मानिन्छ। बार्सिलोनामा उनले २०७ खेलमा ९४ गोल र ६९ असिस्ट गरे। बार्सिलोनाका आधुनिक फुटबल सम्मानमा ठूलो योगदान रोनाल्डिन्होको छ। जहाँ उनले २००४ र २००५ मा फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको अवार्ड साथै २००५ मा नै बालोन डि’ओर अवार्ड जिते।
उपाधिबाहेक हेर्दा नै रोनाल्डिन्होको खेल खुसीको अनन्त यात्रा हो। रोनाल्डिन्होले कहिल्यै पनि आफ्नो टिमका लागि खेलेनन्, सधैँ फुटबलका लागि खेले। सन् २००५ तिरै हुनुपर्छ विश्व फुटबलमा एउटा सामान्य घटनाले खुबै चर्चा पायो। ला लिगामा बार्सिलोनाको खेल चलिरहँदा एक्कासी रेफ्रीले खेल रोके। मैदानमा खेल चलिरहेकोबाहेक अर्को बल आइपुगेको रहेछ। यो सामान्य घटना नै हो। तर त्यो बल बाहिर दिन रोनाल्डिन्होले जे गरे त्यो सामान्य थिएन।
त्यस्तो अवस्थामा प्राय सबैले बल सामान्य रुपमा बाहिर फालिदिन्छन्। तर रोनाल्डिन्होले बल गोडामा अड्याए, सधैँ जस्तो अगाडिको सबै दाँत देखाएर हाँसे, बललाई दाहिने गोडामा एक फन्को घुमाए, देब्रे गोडातिर सारे, गोलिगाँठामा उफारे, घुमाए र ज्यान पछाडिबाट हानेर बाहिर फाले। केही सेकेण्डमा रोनाल्डोले नसोचेको जे गरे त्यसले समर्थक औधि रमाए। के पक्ष के विपक्ष। यही हुन् रोनाल्डिन्हो।
रोनाल्डिन्होका दाइ रोबर्टो अट्याकिङ मिडफिल्डर थिए। ब्राजिलदेखि स्वीट्जरल्याण्ड, पोर्चुगल र फ्रान्ससम्म व्यावसायिक फुटबल खेलेका दाइबाट नै रोनाल्डिन्होले धेरै सिके। रोनाल्डिन्होले पहिलोपटक जतिबेला फुटबल बुट लगाएर बल गोडामा पाएका थिए, घन्टौँ हावामा उफारेर बल नझार्ने अभ्यास गरिरहन्थे। टोलको बालुवा मैदानमा र फुटसलमा पनि उनले बललाई आफैसँग धेरैबर राखिरहने त्यही कला सिकिरहे। जसले पछिसम्म पनि उनको मुहारको त्यो खुला हाँसो फुटबलले नै देखाइरह्यो।
सन् २०११ को जनवरीको कुरा हो, रोनाल्डिन्हो एसि मिलानको रातो र कालो धर्से जर्सी छाडेर ब्राजिलमा फ्लामेन्गो क्लब फर्कंदै थिए। जतिबेला उनलाई केही समय अझै युरोपमा नै खेल्नुपर्ने सुझाव आइरहेको थियो। त्यसबेला मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भनेका थिए- ‘उनको जीवनको छनोट।’
रोनाल्डोन्हिोले अहिलेसम्म जे गरे, त्यो उनको छनोट नै हो। फुबटल खेल्दासम्म उनी केन्द्रबाट पर भएनन्, चर्चामा रहिरहे। त्यसैले अहिले फुटबल छाडिसक्दा पनि उनको सम्झनाका क्षणहरु समर्थकमा सकिएका छैनन्। पछिल्लो समय नक्कली पासपोर्टका कारण पक्राउ परेका रोनाल्डिहोको फुटबल जीवनको चर्चा जस्तो अहिले रहेन।
रोनाल्डिन्हो र उनका दाइ रोबर्टो पाराग्वेको क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा त्यहाँ पुग्दा नक्कली पासपोर्टका कारण पक्राउ परेका थिए। बुधबार उनी पाराग्वेको बन्दी जीवनबाट छुटेर ब्राजिल पुगेका छन्। ९० हजार डलर जरिवानासँगै ब्राजिलकै अदालतमा हरेक तीन-तीन महिनामा दुई वर्षसम्म उपस्थित हुनुपर्ने गरी उनलाई छाडियो।
सन् २०१८ मा संरक्षित क्षेत्रको तालमा अवैधानिक रुपमा माछा मार्न घाट बनाएको अभियोगमा रोनाल्डिन्हो ब्राजिलमा कारबाहीमा परेका थिए। जसका कारण ८.५ मिलियन अमेरिकी डलर जरिवनासहित उनलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो। तर देश नछाड्ने अदालतको आदेश रहँदा रहँदै गएको वर्ष रोनाल्डिन्हो ब्राजिलका लागि पर्यटन दूतसमेत नियुक्त भएका थिए।
पाराग्वेमा जेलमा रहँदा पनि उनले फुटबल छाडेनन्। जेलभित्र भएकासँगको सेल्फीसँगै उनले त्यहीँ खेल पनि खेले। ११-२ ले जितेको खेलमा उनले पाँच गोल गर्नुका साथै ६ गोलका लागि पास मिलाए। जितपछि उपहारमा सुँगुर पाए। जसको चर्चा सञ्चार माध्यममा खुबै भयो। पछिल्लो समय भने रोनाल्डिन्होलाई जेलबाट निकालेर एक होटलमा नजरबन्दमा राखिएको थियो।
फुटबल कलाका साथै मनमौजी व्यवहारका कारण पनि रोनाल्डिन्होको चर्चा उनको खेल समयमा पनि नभएको होइन। अभ्यासमा ढिला पुग्ने र कुनै दिन अभ्यासमा नै नजाने गल्तीहरु उनको खेलका पछिल्ला वर्षहरुमा धेरै दोहोरिए। जसले उनलाई उही खेल शैलीमा अझ केही वर्ष बढ्न बन्देज भइरह्यो।
रोनाल्डिन्होले कहिल्यै उपाधि र पदकका लागि खेलेनन्। उनले खेले किनभने उनलाई खेल्न मन पर्थ्यो। बाँकी जे जितियो र जे पाइयो त्यो खेलबाहेकको ‘बोनस’ जस्तो थियो।
(यो सामग्री बिबिसी, गार्जियन, फुटबल टाइम्सलगायतमा आधारित रहेर तयार पारिएको हो। तस्बिरहरु प्लेयर्स ट्रिब्युन, बिबिसी र फुटबल टाइम्सका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।