एजेन्सी–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा हस्तक्षेपका लागि एक पुलिस रिजर्भ फोर्स गठन गरेको खुलासा गरेका छन्। यद्यपि उक्त फोर्स बेलारुस पठाउने अवस्था नआएको उनको भनाइ छ।
रुसी सरकारी टेलिभिजनमा उनले बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोको आग्रहमा उक्त प्रहरी गठन गरिएको बताएका हुन्। ‘लुकासेन्कोले मलाई एक पुलिस रिजर्भ फोर्स बनाउन आग्रह गरेका थिए, र मैले बनाएँ,’ उनले भनेका छन्।
दुवै देशबीच भएको एक सम्झौताअनुसार नै रक्षा मामलामा बेलारुसलाई सहयोग गर्नु रुसको कर्तव्य भएको पुटिनले बताए।
पुटिनले स्थिति नियन्त्रणबाहिर गएको अवस्थामा प्रहरी बल प्रयोग गर्न सहमति भएको पनि बताए । गत ९ अगष्टमा भएको विवादित चुनावको विषयमा लुकासेन्कोले देशमा विरोधको सामना गरिरहेका छन्। राजधानीमा मिन्स्कमा भएको विपक्षीको प्रदर्शनमा १३ पत्रकार पनि पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।