एजेन्सी–न्युजिल्याण्डको एक अदालतले क्राइस्टचर्च आक्रमणका दोषी ब्रेन्टन टेरेन्टलाई आजीवन काराबासको सजाय सुनाएको छ। तर उनलाई ‘पेरोल’(सजायको केही अवधि बिताएपछि जेलबाट बाहिर निस्कने सुविधा) भने दिइएको छैन। न्युजिल्याण्डको इतिहासमा पहिलो पटक दोषीलाई यस्तो सजाय सुनाइएको हो।
२९ वर्षीय टेरेन्टले गत वर्ष क्राइस्ट चर्चका दुई वटा मस्जिदमाथि बन्दुक आक्रमण गरेका थिए। उनले उक्त आक्रमणको फेसबुक लाइभ पनि गरेका थिए। उनीमाथि ५१ मानिसको हत्या, अन्य ४० जनाको हत्या प्रयास र आतंकवादको आरोप थियो। उनले यी आरोप स्वीकार गरेका थिए।
न्यायाधीशले ब्रेन्टनको क्रियाकलाप अमानवीय र निर्दयी भएको उल्लेख गर्दै उक्त सजाय सुनाएका हुन्। न्यायाधीश केमरन मेन्डरले इजलाशमा ब्रेन्टनलाई भने, ‘तिम्रो अपराध यति घृणास्पद छ कि, आजीवन काराबासको सजाय पनि कम हुनेछ।’
न्युजिल्याण्डमा मृत्युदण्डको व्यवस्था छैन। आजीवन काराबासको सजाय त्यहाँको कठोर दण्ड हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।