एजेन्सी–हङकङमा एकपटक निको भइसकेका व्यक्तिलाई चार महिनापछि पुनः कोरोना संक्रमण भएको पुष्टि भएको छ। हङकङका वैज्ञानिकहरुले दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित बिरामी पुष्टि गरेका हुन्।
३० बर्षभन्दा बढी उमेरमा ती व्यक्तिलाई झण्डै साढे ४ महिना अगाडि पहिलोपटक कोरोना संक्रमण भएको पुष्टि भएको थियो। एउटै व्यक्तिलाई दोश्रोपटक संक्रमण हुनसक्ने बताइँदै आए पनि पुष्टि भएको भने यो पहिलो पटक हो। विश्व स्वास्थ्य संगठनले भने एक जना बिरामीको विषयलाई लिएर कुनै निष्कर्षमा पुग्न नसकिने बताएको छ।
कतिपय वैज्ञानिकहरुले दोश्रो पटक संक्रमण दुर्लभ भएको बताएका छन्। हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार ती व्यक्ति संक्रमणबाट निको हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमा भर्ना भएका थिए। पछिल्लोपटक विमानस्थलमा गरिएको परीक्षणमा उनमा दोश्रोपटक कोरोना संक्रमण देखिएको हो। यद्यपि उनमा संक्रमणको कुनै लक्षण भने थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।