काठमाडौं- सरकारको बाह्य तथा आन्तरिक ऋणमात्रै १४ खर्ब १९ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख छ। २०७७ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ८ खर्ब ५ अर्ब ८३ करोड र आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १४ खर्ब १९ अर्ब पुगेको छ।
आर्थिक वर्ष २०७६/७७ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ३०.३ प्रतिशत रहेको थियो।
सरकारले आर्थिक वर्ष २०७६/७७ मा सरकारले १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड सावाँ भुक्तानी गरेको छ।
यस अवधिमा नेपाल सरकारले १ खर्ब ६० अर्ब २४ करोड खुद आन्तरिक ऋण परिचालन गरेको बैंकले जनाएको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ४.३ प्रतिशत हुन आउँछ। यस अवधिमा सरकारले १ खर्ब ६२ अर्ब ५८ करोड बाह्य ऋण परिचालन गरेको छ।
नगद मौज्दात
२०७७ असार मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ४१ अर्ब १७ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत नगद मौज्दात रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।