काठमाडौं- आर्थिक वर्ष २०७६/७७ मा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति २ खर्ब ६७ अर्ब ४५ करोडले घाटामा भएको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६को सोही अवधिमा सरकारी वित्त स्थिति १ खर्ब ८० अर्ब ५० करोडले घाटामा थियो। तर, गत आवमा घाटा ८७ अर्बले बढको हो।
यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारको कुल खर्च १० खर्ब ९४ अर्ब ३४ करोड रहेको छ। चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः ७ खर्ब ८६ अर्ब ५३ करोड, १ खर्ब ९१ अर्ब ७७ करोड र १ सय १६ अर्ब ४ करोड भएको छ।
घट्यो राजस्व
आर्थिक वर्ष २०७६/७७ मा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत ७ खर्ब ९३ अर्ब ७८ करोड रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिमा कुल राजस्व संकलन ८ खर्ब ७१ अर्ब ७८ करोड रहेको थियो। आर्थिक वर्ष २०७६/७७ मा अन्य प्राप्ति समेत गरी संघीय सरकारले ८ खर्ब ४१ अर्ब ३६ करोड स्रोत परिचालन गरेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।