काठमाडौं- गत आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा विप्रेषण (रेमिट्यान्स) घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स ०.५ प्रतिशतले घटेर ८ खर्ब ७५ अर्ब रूपैयाँमा झरेको हो।
अघिल्लो वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो। गत आर्थिक वर्ष २०७६/०७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। त्यसअघिको वर्ष यो संख्या ३२.६ प्रतिशतले घटेको थियो।
गत आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड कायम भएको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड रूपैयाँ रहेको थियो।
गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई १९ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रूपैयाँ रहेको थियो।
आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रूपैयाँले घाटामा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।