काठमाडौं- समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको आइपिओमा मागभन्दा बढी आवेदन परेपछि आजदेखि निष्कासन बन्द गर्ने भएको छ। दुवैले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्कासन गरेका थिए।
समाजले सर्वसाधारणका लागि जारी गरेको ८० हजार ७०० कित्ताको लागि ४ लाख ७९ हजारले आवेदन दिएका छन्। लघुवित्तको शेयरका लागि एक अर्ब एक करोड रुपैयाँको आवदेन परेको हो।
त्यस्तै रिलायन्स लाइफले सर्वसाधारणका लागि जारी गरेको ५६ लाख ७० हजार कित्ताको लागि ५ लाख तीन हजारभन्दा धेरैको आवेदन परिसकेको छ। उक्त शेयरका लागि दुई अर्ब ४ करोड रुपैयाँको आवेदन परेको छ। अहिलेसम्मको आवेदन अनुसार माग गर्ने जति सबैले न्युनतम १० कित्ता पाउने देखिन्छ। यदि ५ लाख ६७ हजारभन्दा धेरैको आवदेन परेमा १० कित्ताको लागि पनि गोलाप्रथा हुन सक्छ। रिलायन्स लाइफमा परेको आवेदन संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो। यसभन्दा अगाडि अजोड इन्स्योरेन्समा ४ लाख ८५ हजार ३७१ जनाको आवेदन परेको थियो।
दुवैको आइपिओमा आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। आवेदन दिन बाँकीले समाजका लागि १० र रिलायन्स लाइफको लागि २० कित्ताको आवेदन दिए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।