काठमाडौं-समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेका छन्। दुवैले पहिलो चरणमा भदौ ८ गतेसम्म आइपिओ निष्काशन गर्ने छन्।
रिलायन्स लाइफले सर्वसाधारणतर्फको ६३ लाख कित्तामध्ये तीन लाख १५ हजार कित्ता कर्मचारी र तीन लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि बिक्री गर्नेछ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणले पाउने छन्।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवदेन दिन सक्ने छन्। तर रिलायन्स लाइफको आइपिओमा अहिलेसम्मको ट्रेण्ड हेर्दा अधिकतम २० कित्ताभन्दा बढी हाल्नु पर्ने देखिदैन।
यस अगाडि अजोड इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा ४ लाख ८५ हजारभन्दा धेरैले आवेदन दिएका थिए। यस आधारमा रिलायन्सको आइपिओ न्युनतम १० कित्ताका दरले भाग लगाउँदा ५ लाख ६७ हजारले पाउन सक्छन्।
यदि अजोड तथा साधना लघुवित्तमा आवेदन दिनेको अनुपातमा लगानीकर्ता भएमा सबैले १० कित्ता र केहीले थप १० कित्ता शेयर पाउन सक्छन्। त्यसैले यसमा २० कित्ताभन्दा धेरै आवदेन दिनु पर्ने देखिँदैन। तर उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको हुँदा मेरोशेयर बाहेक बैंकमै गएर आवेदन दिन सम्भव छैन। यस आधारमा आवदेनकर्ता यस पटक केही घट्न सक्छन्।
समाज लघुवित्तले ८६ हजार कित्ता सर्वसाधारण शेयर जारी गरेको छ। जसमध्ये ४ हजार ३०० कित्ता कर्मचारी र ४ हजार ३०० कित्ता सामूहिक लगानी कोषले पाउनेछन्। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको छ।
समाज लघुवित्तमा ८ हजार ७० जनाले १० कित्ता पाउनेछन्। लक्की ड्रमार्फत् ८ हजार ७० जनाले १० कित्ता शेयर पाउने छन्। त्यसैले गर्दा १० कित्ताका लागि मात्रै आवदेन दिए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।