काठमाडौं-नेपाल गुणस्तर तथा नापतौल विभागको राजस्व संकलनमा कोरोनाको प्रभाव परेको छ। कोरोनाका कारण चैतदेखि सबै काम ठप्पजस्तै हुँदा विभागकाे वार्षिक राजस्व संकलनमा कमी आएको हो।
विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार राजस्व संकलनमा २ प्रतिशतले कमी आएको हो। उनका अनुसार कारोना संक्रमणको अवस्था नआएको भए राजस्व संकलन २० प्रतिशतभन्दा बढीले हुने थियो।
विभागअन्तर्गत देशभर रहेका कार्यालयहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा कुल ४करोड ५७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। जुन अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को भन्दा २० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्ष विभाग अन्तर्गतका कार्यालयले ५ करोड ५७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेका थिए।
यसैगरी, विभागले मात्रै गत आर्थिक वर्ष २०७६/०७७ मा ४ करोड १२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। विभागले गरेको राजस्व संकलन भने अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को भन्दा ३१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा विभागले ३ करोड १३ लाख ३१ हजार रुपैयाँ कर संकलन गरेको थियो।
विभाग तथा विभाग मातहतका कार्यालयले गत आर्थिक वर्षमा कुल ८ करोड ६९ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेका थिए। जुन अघिल्लो आर्थिक वर्ष२०७५/०७६ को भन्दा २ प्रतिशतले कम हो। अघिल्लो आवमा विभाग तथा मातहतका कार्यालयले कुल ८ करोड ८५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेका थिए।
विभाग तथा विभाग अन्तर्गतका कार्यालयहरुले उद्योग नेपाल गुणस्तर प्रमाण चिह्न नवीकरण, नयाँ प्रदान, ट्याक्सी मिटर जडान, नापतौल यन्त्रको परीक्षणलगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।
विभागले संकलन गरेको ६ वर्षको राजस्व
विभागले २०७१/०७२ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मकाे ६ आर्थिक वर्षमा कुल ३८ करोड ७२ लाख ३७ हजार राजस्व संकलन गरेको छ।
जसमा विभागको केन्द्रीय कार्यालयले मात्रै ११ करोड १० लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो भने विभागअन्तर्गतका कार्यालयहरुले २७ करोड ६२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्।
विभाग तथा मातहतका कार्यालयले आव २०७१/०७२ मा २ करोड ६ लाख ३० हजार रुपैयाँ, ०७२/०७३ मा ४ करोड ९९ लाख ७३ हजार रुपैयाँ, ०७३/०७४ मा ६ करोड ६४ लाख ४५ हजार रुपैयाँ र ०७४/०७५ मा ७ करोड ४६लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्।
यसैगरी विभाग तथा मातहतका कार्यालयले आव ०७५/०७६ मा ८ करोड ८५ लाख ९२ हजार रुपैयाँ र ०७६/०७७ मा ८ करोड ६९ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।