भन्सार विभाग काठमाडौं-चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना (साउन)मा कूल वस्तु आयात १९.६ प्रतशतले घट्दा निर्यात ८.८७ प्रतिशतले बढेको छ।
भन्सार विभागका अनुसार गत वर्षको सुरुवाती अवस्था जस्तै यसपटक पनि निर्यातमा केही सुधार देखिएको छ।
साउनमा ८५ अर्ब ८० करोड रूपैयाँको कूल वस्तु आयात भएको छ। यसैगरी ९ अर्ब ६१ करोड रूपैयाँको निर्यात भएको छ। गत वर्षको यही अवधिमा १ खर्ब ६ अर्ब ७२ करोड रूपैयाँको वस्तु आयात भएको थियो भने ८ अर्ब ८३ करोड रूपैयाँको वस्तु निर्यात भएकाे थियो।
आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा ७६ अर्ब १९ करोड रूपैयाँ भएको छ। जुन गत वर्ष ९७ अर्ब ८८ करोड रूपैयाँ थियो। गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा व्यापार घाटा २२ प्रतिशतले घटेको हो।
आयात घट्दाको असर राजस्व संकलनमा भने देखिएको छ। गत वर्ष २७ अर्ब ५४ करोड रूपैयाँ राजस्व संकलन भएकोमा यसवर्ष २२ अर्ब ८४ करोड रूपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्षको पहिलो महिनामा आयात ११ प्रतिशतले घटेको थियो भने निर्यात २७.६८ प्रतिशतले बढेको थियो। व्यापार घाटा १३.९० प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।