काठमाडौं- प्रत्येक स्थानीय तहमा एक उद्योगग्राम स्थापना गरी संचालनमा ल्याउने सरकारको नीतिअनुसार चालु आर्थिक वर्ष २०७७/७८ का लागि थप १ सय ३० वटा उद्योगग्राम स्थापनाका लागि प्रस्ताव माग गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार एक सूचना जारी गर्दै औद्योगिक ग्राम स्थापना गर्न प्रस्ताव आह्वान गरेको हो। यस्ता उद्योगग्राम स्थापना गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा २ अर्ब ६४ करोड रुपैयाँ बराबर बजेट छुट्याएको छ।
गत आर्थिक वर्ष सरकारले विभिन्न जिल्लाका ४५ वटा स्थानीय तहमा उद्योग ग्राम घोषणा गरी अहिले विकास र निर्माणको चरणमा रहेका छन्। यस्ता उद्योग ग्रामका लागि सरकारले गतवर्ष प्रति उद्योग ग्राम ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो।
सरकारले स्थानीय स्रोत, साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी यस्ता उद्योगको स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको माध्यामबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउन यस्ता उद्योग ग्रामको स्थापना सरकारले ल्याएको हो।
उद्योग ग्राम स्थापनाका लागि स्थानीय तहले प्रस्ताव हाल्दा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसमेतको सहभागितामा सरकारबाट घोषणा भई विकास निर्माण र स्थापना गरिने गरी ‘औद्योगिक ग्रामका लागि औद्योगिक ग्राम घोषणा तथा संचालन सम्बन्धी कार्यविधि २०७६’ अनुसारका मापदण्ड पूरा गरी प्रस्ताव तयार पार्नुपर्नेछ।
चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटबाट सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने, शुरु गरिएका औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्यलाई अघि बढाउने, निर्माणाधीन व्यापारिक मार्गलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने र स्थानीय तहमा थप उद्योग ग्राम स्थापना गर्नेलगायतका काम गर्ने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।