काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले रोनाल्ड कोम्यानलाई प्रशिक्षकमा नियुक्त गरेको छ। बार्सिलोनाकै पूर्वखेलाडी कोम्यान नेदरल्याण्ड्सको राष्ट्रिय टिमको प्रशिक्षण छाडेर बार्सिलोना गएका हुन्।
प्रशिक्षक क्विके सेटियन र टेक्निकल सेक्रेटरी इरिक अबिडाललाई बर्खास्त गरेको बार्सिलोनाले दुई दिन पछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो। बार्सिलोनासँग अहिले दुई वर्षको सम्झौता गरेका कोम्यान सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाकै खेलाडीसमेत थिए।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८–२ ले हारेको बार्सिलोना यो सिजन उपाधिविहीन बनेको रह्यो। ला लिगाको उपाधिसमेत गुमाएको टिमलाई च्याम्पियन्स लिगको लज्जास्पद हारले नयाँ प्रशिक्षक खोज्न बाध्य बनाएको हो।
यस्तै बार्सा टिभिसँगको अन्तर्वार्तामा बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले पहिलो रोजाइँको टिममा निकै फेरबदल हुने, जसका कारण केही सिनियर खेलाडीले क्लब छाड्नुपर्ने बताएका छन्।
बर्टामेउका अनुसार क्लबमा नै रहिरहने ९ खेलाडीहरुमा कप्तान लियोनल मेस्सी, गोलकिपर मार्क आन्द्रे टेर स्टेगेन, डिफेन्डर नेल्सन सेमेडो र क्लेमेन्ट लेङलेट, मिडफिल्डर फ्रान्की डि योङ, फरवार्ड उसमान डेम्बेले र एन्टोनी ग्रिजम्यान छन्। साथै बी टिमबाट ए टिममा खेलिरहेका अन्सु फाती र रिकी पुइच पनि बिक्रीमा छैनन्।
कोम्यानले बनाउनले नयाँ टिममा अहिले बर्टामेउले भनेका खेलाडीबाहेक अरुको स्थान नरहेको बताइएको छ। नयाँ खेलाडी किन्नुभन्दा पहिले एकेडेमीका खेलाडीलाई हेर्नुपर्ने विश्वास देखाएका कोम्यानले टिम कप्तान मेस्सीलाई केन्द्रमा राखेर नै योजना बनाएका छन्।
बर्टामेउका अनुसार टिममा अब जेरार्ड पिके, जोर्डि अल्बा, सर्जियो बुस्केट्स, इभान राकिटिक, स्यामुअल उमटिटी, आर्टुरो भिडाल र लुइस स्वारेज जस्ता खेलाडीहरु हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।