काठमाडौं- च्याम्पियन्स लिग दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १ बजे जर्मन क्लब बायर्न म्युनिक र फ्रेन्च क्लब लियोन खेल्दैछन्। विजेताले आइतबार राति हुने फाइनल खेलमा फ्रेन्च क्लब पिएसजीको सामना गर्नेछ।
बायर्न म्युनिक र लियोनको युरोपियन प्रतिस्पर्धामा यो नवौँ भेट हो। यसअघिका आठ खेलमा बायर्न म्युनिकले चार खेल जितेको छ। दुई खेल बराबरी भएको छ भने लियोनले दुई खेल जितेको छ।
पछिल्लो पटक २०१० को च्याम्पियन्स लिग सेमिफाइनलमा यी दुई टिमको भेट हुँदा बायर्नले ४-० ले जितेको थियो। त्यसबेला दुई लेगको खेल भए पनि अहिले पनि नकआउट रुपमा एक लेगको मात्र खेल रहेको छ।
च्याम्पियन्स लिग सेमिफाइनलमा बायर्न म्युनिकको यो १२ औँ पटक हो। २०१२-१३ मा उपाधि जितेपछि बायर्न सेमिफाइनलबाट अगाडि बढ्न सकेको छैन। अहिले च्याम्पियन्स लिगमा ९ खेलमा अपराजित रहेको बायर्न म्युनिकले रियल मड्रिडले २०१५ मा बनाएको अपराजित १० खेलको कीर्तिमान तोड्ने अवसर पनि छ। २०१३ मा बायर्न पनि १० खेलको अपराजित यात्रा गर्न सफल भएको थियो।
क्वाटरफाइनलमा बार्सिलोनालाई ८ गोल हानेर बलियो देखिएको बायर्न प्रतियोगिताको प्रमुख दाबेदार मानिए पनि युभेन्टस र म्यानचेस्टर सिटीलाई हराएर आएको लियोनलाई कमजोर आँक्न मिल्ने ठाउँ छैन।
पाँच पटक च्याम्पियन्स लिग जितेको बायर्न म्युनिक पाँचै पटक फाइनलमा पुगेर पराजित भएको टिम हो। यो सिजनमा गोलमा राम्ररी बढेको बायर्नलाई कसैले रोक्न सक्ला र जस्तो देखिएको छ। यो सिजन सबै खेल जितेको बायर्नका लागि अब एक नकआउट खेलमा जे पनि हुन सक्छ भनिने अनुमानबाहेक अरु हिसाबले बलियो देखिन्छ।
यो सिजन समूह चरणबाट नै कठिन अवस्थामा बढेको लियोनका लागि युभेन्टस र म्यानचेस्टर सिटीलाई पछि पार्न सक्नु राम्रो उपलब्धी हो। अन्तिम १६ को खेलमा युभेन्टसलाई पहिलो लेगमा १-० ले हराएको लियोन दोस्रो लेगमा २-१ ले पराजित भएको थियो। दोस्रो लेगको अवे गोलका कारण सफलता मिल्यो। क्वाटरफाइनलमा लियोनले सिटीलाई ३-१ ले हराएको थियो। रोचक रुपमा अघि बढिरहेको लायोनमा ३-५-२ को फर्मेसन सफल भइरहेको देखिन्छ।
बार्सिलोनालाई हराउनुअघि युइएफए वरियताको चौथो स्थानमा रहेको बायर्न अहिले वरियताको दोस्रो स्थानमा रहेको छ।
बायर्न म्युनिक
युइएफएमा स्थान- दोस्रो
यो सिजनको अवस्था- खेल ९, जित ९, गरेको गोल ३९, खाएको गोल ८
अन्तिम १६ को खेलमा- चेल्सीलाई ७-१ ले हराएको
क्वाटरफाइनलमा- बार्सिलोनालाई ८-२ ले हराएको
धेरै गोल गर्ने- रोबर्ट लेवान्डोस्की, १४ गोल
गएको सिजन- क्वाटरफाइनलबाट बाट बाहिरिएको
युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- पाँच पटकको विजेता (पछिल्लोपटक २०१३ मा जितेको)
लियोन
युइएफएमा स्थान- १७औँ
यो सिजनको अवस्था- खेल ९, जित ४, बराबरी २, हार ३, गरेको गोल १४, खाएको गोल ११
अन्तिम १६ को खेलमा- युभेन्टससँग २-२ को बराबरी, अवे गोलका आधारमा अघि
क्वाटरफाइनलमा- म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको
धेरै गोल गर्ने- मेम्फिस डिपाइ, ६ गोल
गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको
युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (२००९-१० को सिजन र अहिले)
के भन्छन् प्रशिक्षक?
रुडी ग्रासिया, लियोन
खाइरहँदा पनि कतिपय बेला भोक लाग्छ। हामीलाई अहिले भने जितको भोक छ। फाइनलमा पुग्नका लागि राम्रो खेल्न हामी तयार छौँ। त्यसमा बायर्नको खेल कस्तो हुन्छ भन्नेमा पनि भर पर्छ तर हामी हाम्रो राम्रो कुराहरु प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। बायर्नको कमजोरी देखिँदैन तर कोहि पनि पूर्ण हुँदैनन्। हामीलाई हामीमा विश्वास छ। बलमा नियन्त्रण बनाएर आफ्नै प्रकारको खेल खेल्न सक्यौँ भने पक्कै पनि राम्रो हुनेछ।
हान्स डिएटर फ्लिक, बायर्न म्युनिक
म मेरो टिमबाट विश्वस्त छु। हामीमा राम्रो लय देखिएको छ। अभ्यासका क्रममा पनि तीब्रता र खेलशैली दुवै राम्रो छ। म आरामले तनावबिना बसिरहेको छु, किनभने टिमले के गर्न सक्छ भन्ने मलाई थाहा छ। तर पनि यो एक खेल हो जो शून्यबाट सुरु भएर ९० मिनेटमा सकिनेछ। हामी बार्सिलोना विरुद्धको खेलमा जस्तै गर्ने प्रयासमा हुनेछौँ।
सम्भावित सुरुवाती ११
लियोन- लोपेस, डिनाएर, मार्सेलो, मार्कल, डुबोइस, काकुरेट, ग्युमारेस, ओउर, कोर्नेट, डिपेइ र डेम्बेले।
बायर्न म्युनिक- निवर, किमिच, बोएटेङ, अलाबा, डेभिएस, गोर्तेज्का, थियागो, पेरेसिक, मुलर, ग्यानबेरी र लेवान्डोस्कि।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।