काठमाडौं-नेपालको कूल गार्हस्थ उत्पादन र ऋणको अनुपात (डेब्ट टु जिडिपी रेसियो) ३५.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षसम्म ३१ प्रतिशत रहेको यो अनुपात गत आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा ४ प्रतिशत विन्दूले बढेको हो।
गत वर्ष नेपालको कूल गार्हस्थ उत्पादको वृद्धिदर कमजोर हुँदा ऋणसँगको अनुपात बढेको हो। गत वर्ष नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतम खुम्चिएको थियो।
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको कूल गार्हस्थ उत्पादनको आकार ३७ खर्ब ७६ अर्ब रूपैयाँको पुगेको छ। यसैगरी कूल राष्ट्रिय ऋणको १३ खर्ब ४६ अर्ब रूपैयाँ पुगेको छ। त्यसमध्ये ६ खर्ब १३ अर्ब रूपैयाँ आन्तरिक ऋण छ भने ७ खर्ब ३३ अर्ब रूपैयाँ विदेशी ऋण छ।
गत आर्थिक वर्षको अन्त्यमा कोरोना रोकथाम र नियन्त्रणका लागि केही थप ऋण लिँदा ऋण बढेको मन्त्रालयले जनाएको छ। 'गत वर्ष कूल गार्हस्थ उत्पादन अपेक्षाकृत वृद्धि हुन सकेन भने अर्कोतर्फ कोभिडका लागि स्रोत जुटाउन ऋण बढाउँदा अनुपात बढेको हो,' अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।