काठमाडाैं-नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिन पारेर 'ह्याप्पी लर्निङ प्याक' ल्याएको छ। टेलिकमले विद्यालय र विश्वविद्यालयले सञ्चालन गरिरहेकाे अनलाइन पठनपाठनलाई लक्षित गर्दै ह्याप्पी लर्निङ प्याक ल्याएको हाे।
प्याकेजअन्तर्गत ३ सय १५ रुपैयाँ मा २४ जीबी र ५ सय रुपैयाँमा मा ३५ जीबी डाटासहितको प्याक रहेकाे टेलिकमले जनाएकाे छ।
२४ जीबी डाटामध्ये २० जीबी डाटा जुम माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटामा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न सकिने टेलिकलमे जनाएको छ।
यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यी दुवै प्याकेजको समयावधि २८ दिनको रहने टेलिकमको भनाइ छ।
प्याक कसरी लिने?
प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना ([email protected]) मा पठाउनु पर्नेछ।
सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत् सन्देश पठाएर प्याकेज खरिद गर्न सूचना दिनेछ। एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट स्टार १४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनाेट गरी प्याकेज खरिद गर्न सकिने छ ।
ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत् प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। विद्यार्थी अफरअन्तर्गत *१६०० # मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट * १४४१# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।